कृषि विकास बैंकको प्रतिसेयर आम्दानी बढ्यो, खराब कर्जा भने यथावत्

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालू आवमा ३.७२ प्रतिशतले घटेर २ अर्ब ३६ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ ।

खुद ब्याज आम्दानीमा गिरावट आए पनि बैंकको कुल सञ्चालन आम्दानी बढेको छ । गत वर्ष २ अर्ब ६५ करोड २५ लाख रुपैयाँ रहेको यस्तो आम्दानी ८.८६ प्रतिशतले वृद्धि भई २ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन मुनाफामा भने सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन मुनाफा चालू आवमा १५ करोड ६० लाख रुपैयाँ धनात्मक भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष १७ पैसा रहेको प्रतिसेयर आम्दानी चालू आवको पहिलो त्रैमासमा बढेर ३ रुपैयाँ ५ पैसा पुगेको छ । बैंकको खराब कर्जा अनुपात भने सामान्य बढेर ४.७९ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष यस्तो अनुपात ४.७८ प्रतिशत थियो ।

बैंकको प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ ५८ पैसा रहेको छ । तर, वितरणयोग्य मुनाफा भने घटेको छ । गत वर्ष २ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ रहेको यस्तो मुनाफा चालू आवमा घटेर ७८ करोड ८० लाख रुपैयाँमा झरेको छ ।

असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी १९ अर्ब ७३ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १८ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकले ३ खर्ब ४८ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।