लक्ष्मी सनराइज बैंकको नाफा ९६ प्रतिशत बढ्यो, ६५ करोडमाथि कमाइ
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा झन्डै दोब्बर बनाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको ३३ करोड २३ लाख ३१ हजार रुपैयाँको तुलनामा ९६.४१ प्रतिशत बढी हो ।
बैंकको नाफा बढ्नुमा कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको रकममा आएको कमी र गैरब्याज आम्दानीमा भएको सुधार मुख्य कारण देखिएका छन् । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३८.३६ प्रतिशतले घटेर १ अर्ब १९ करोड ६८ लाख १० हजार रुपैयाँमा झरेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो रकम १ अर्ब ९३ करोड ९१ लाख ६१ हजार रुपैयाँ थियो ।
इम्पेयरमेन्ट चार्ज घटेसँगै बैंकको सञ्चालन नाफा पनि उल्लेख्य बढेको छ । गत वर्ष ४३ करोड ८२ लाख रुपैयाँको हाराहारीमा रहेको सञ्चालन नाफा चालू आवमा ९३ करोड ३१ लाख ७५ हजार रुपैयाँ पुगेको छ । यसअनुसार सञ्चालन नाफा ११२.९९ प्रतिशतले बढेको हो ।
यद्यपि, बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट आएको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ७१ करोड ५१ लाख ७६ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालू आवको सोही अवधिमा १.६५ प्रतिशतले घटेर २ अर्ब ६७ करोड १ लाख ७२ हजार रुपैयाँ कायम भएको छ ।
गैरब्याज आम्दानीतर्फ बैंकले सुधार गरेको छ । खुद फि तथा कमिसन आम्दानी ४.५३ प्रतिशतले बढेर ६४ करोड ४७ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी ६१ करोड ६८ लाख ३६ हजार रुपैयाँ थियो । त्यस्तै, खुद ट्रेडिङ आम्दानी ३२.८१ प्रतिशतले वृद्धि भई २८ करोड ४८ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानी १९ करोड ७० लाख रुपैयाँ रहेको छ ।
व्यवसाय विस्तारमा पनि बैंकले प्रगति गरेको छ । गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालू आवको पहिलो तीन महिनामा निक्षेप ३.५८ प्रतिशतले बढेर ४ खर्ब ३९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ पुगेको छ । यसैगरी, कर्जा प्रवाह ५ प्रतिशतले वृद्धि भई ३ खर्ब २१ अर्ब ८ करोड ६३ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको कर्जा गुणस्तरमा भने केही दबाब देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा ५.४२ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात बढेर ५.५८ प्रतिशत पुगेको छ । खुद निष्क्रिय कर्जा पनि १.५७ प्रतिशतबाट बढेर १.८३ प्रतिशत कायम भएको छ । यद्यपि, निष्क्रिय कर्जाका लागि गरिएको नोक्सानी व्यवस्थाको कभरेज अनुपात भने ९७.३८ प्रतिशतबाट बढेर ९८.२३ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा बैंकको कोषको लागत ४.०५ प्रतिशतबाट घटेर ३.२० प्रतिशतमा झरेको छ । त्यस्तै, आधार दर ५.८९ प्रतिशतबाट घटेर ४.८९ प्रतिशत र औसत ब्याजदर अन्तर ३.६६ प्रतिशतबाट घटेर ३.१५ प्रतिशत कायम भएको छ। बैंकको कर्जा–निक्षेप अनुपात ७४.२८ प्रतिशत रहेको छ, जुन गत वर्ष ७७.०९ प्रतिशत थियो ।
नाफामा भएको वृद्धिसँगै बैंकको पुँजीमा प्रतिफल २.९४ प्रतिशतबाट बढेर ५.५० प्रतिशत र सम्पत्तिमा प्रतिफल ०.३० प्रतिशतबाट बढेर ०.५० प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ४६ पैसाबाट बढेर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
हाल बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ र पुँजी पर्याप्तता अनुपात ११.९६ प्रतिशत कायम भएको छ । असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १४ करोड २७ लाख रुपैयाँ रहेको छ ।