नेप्से ३३.२९ अंक बढ्दा ७ अर्ब ४५ करोडको कारोबार, जलविद्युत् समूहमा उछाल
१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ ।
काठमाडौं । बुधबार सेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सामान्य अंक बढेको सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज पनि बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ३३.२९ अंक बढेर २६६४.०६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६२ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स २.३९ अंक बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । मगलबार ५ अर्ब ७९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
बेनी हाइड्रोपावरको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको सेयरमूल्य साढे १० प्रतिशतभन्दा बढी बढेको छ भने सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । आज मूल्य घटेका स्टकहरुको गिरावट दर ३ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा आज लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड ५० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । आज जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य अंक घटेको छ ।
बुधबार कारोबारमा आएका मध्य २४१ कम्पनीको मूल्य बढ्दा ४५ कम्पनीको मूल्य घटेको छ त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।