नेप्से १८.०७ अंकले बढ्यो, कारोबार ३ अर्ब ८३ करोड माथि
सिन्धु विकास बैंक जानकी पाइनान्स र इमर्जिङ नेपालको सेयरमा नेगेटिभ सर्किट लागेको छ।
काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
सोमबार नेप्से परिसूचक १८.०७ अंक बढेर २५६०.८४ विन्दुमा पुगेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ४.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक बढेको छ ।
बजार बढेसँगै कारोबार रकम पनि बढेर ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार भने ३ अर्ब ४६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
सोमबार पियोर इनर्जीको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । गणपति लघुवित्तको सेयर मूल्य ७.३५ प्रतिशतले बढेको छ ।
यता सिन्धु विकास बैंक जानकी पाइनान्स र इमर्जिङ नेपालको सेयरमा नेगेटिभ सर्किट लागेको छ। विशेषगरी सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई मुक्तिनाथ विकास बैंकले प्राप्ति गर्ने सम्झौता गरेपछि यी कम्पनीका सेयरमा तीव्र बिक्री दबाब देखिएको छ ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड २१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, गरिमा विकास बैंकको करिब १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
समग्र बजार बढ्दा १३ मध्ये ११ उपसमूहको सूचक उकालो लागेको छ। निर्जीवन बीमा उपसमूह सबैभन्दा धेरै २.०५ प्रतिशतले बढेको छ । बैंकिङ तथा उत्पादन तथा प्रशोधन उपसमूह पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्। वित्त र व्यापार उपसमूह भने सामान्य घटेका छन् ।
सोमबार कारोबारमा आएकामध्ये १९५ कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
