सेयर बजारमा सर्किट ब्रेकर भनेको के हो ? कहिले र कसरी लाग्छ ?
नेप्सेले बजारमा हुने अस्वाभाविक उतारचढाव नियन्त्रण गरी कारोबारलाई व्यवस्थित, सुरक्षित र सहज बनाउने उद्देश्यले २०६४ सालदेखि सर्किट ब्रेकरको व्यवस्था लागू गरेको थियो ।
काठमाडौं । सेयर बजारमा अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लागू गरेको सर्किट ब्रेकरसम्बन्धी व्यवस्था फेरिएको छ । पछिल्लो व्यवस्थाअनुसार कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार रोकिन्छ भने कारोबार अवधिको कुनै पनि समयमा परिसूचक ८ प्रतिशतले घटबढ भएमा दिनभरिका लागि कारोबार बन्द हुन्छ ।
सर्किट ब्रेकर भनेको धितोपत्रको मूल्य वा समग्र बजार परिसूचकमा अस्वाभाविक उतारचढाव आएमा निश्चित समयका लागि कारोबार रोक्ने प्रणाली हो । बजारमा एकैपटक ठूलो गिरावट वा वृद्धि हुन नदिन तथा लगानीकर्तालाई बजारको अवस्थाबारे विश्लेषण गर्ने समय उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको हो ।
नेप्सेले बजारमा हुने अस्वाभाविक उतारचढाव नियन्त्रण गरी कारोबारलाई व्यवस्थित, सुरक्षित र सहज बनाउने उद्देश्यले २०६४ सालदेखि सर्किट ब्रेकरको व्यवस्था लागू गरेको थियो । त्यसअघि सेयर बजारमा एकै दिनमा मूल्य जति पनि घट्न वा बढ्न सक्ने व्यवस्था थियो ।
हालको व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा पहिलो सर्किट ब्रेकर लाग्छ । त्यसपछि १५ मिनेटका लागि कारोबार स्थगित हुन्छ । तर, कारोबार अवधिको कुनै पनि समयमा परिसूचक ८ प्रतिशतले घटबढ भएमा भने त्यस दिनको सम्पूर्ण कारोबार बन्द हुन्छ ।
समग्र बजार परिसूचकमा मात्रै नभई व्यक्तिगत कम्पनीको सेयर मूल्यमा समेत सर्किट ब्रेकरको व्यवस्था लागू हुन्छ । धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ अनुसार कुनै पनि सूचीकृत कम्पनीको सेयर मूल्य प्रारम्भिक कारोबार सत्रमा कायम भएको मूल्यभन्दा १५ प्रतिशतसम्म मात्रै घटबढ हुन पाउँछ ।
यसअनुसार सूचीकृत कम्पनीहरूको सेयर मूल्यमा एक दिनमा हुन सक्ने अधिकतम उतारचढावको सीमा १५ प्रतिशत कायम गरिएको छ । यो व्यवस्था २०८३ वैशाखदेखि लागू भएको हो । त्यसअघि कम्पनीको सेयर मूल्यमा प्रारम्भिक कारोबार सत्रमा कायम भएको मूल्यभन्दा १० प्रतिशतसम्म मात्रै घटबढ हुन पाउने व्यवस्था थियो ।
नयाँ व्यवस्था लागू हुनुअघि नेप्से परिसूचकमा हुने उतारचढावका आधारमा तीन चरणमा सर्किट ब्रेकर लाग्ने व्यवस्था थियो । कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा पहिलो सर्किट ब्रेकर लाग्थ्यो र २० मिनेटका लागि कारोबार स्थगित हुन्थ्यो ।
त्यसपछि पुनः खुलेको बजारमा परिसूचक ५ प्रतिशतले घटबढ भएमा दोस्रो सर्किट ब्रेकर लाग्थ्यो । यसपटक ४० मिनेटका लागि कारोबार रोकिन्थ्यो । दोस्रो सर्किटपछि खुलेको बजारमा परिसूचक ६ प्रतिशतले घटे वा बढेमा भने दिनभरिका लागि कारोबार बन्द हुने व्यवस्था थियो । पछिल्लो समय २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनको मतपरिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार बन्ने देखिएपछि फागुन २५ गते नेप्सेमा सकारात्मक सर्किट ब्रेकर लागेको थियो । त्यस दिन नेप्से परिसूचक १६२.९३ अंक अर्थात् ६ प्रतिशतले बढेपछि निर्धारित समयअघि नै कारोबार बन्द भएको थियो ।
त्यसअघि जेनजी आन्दोलन र त्यसपछिको सत्ता परिवर्तनपछि २०८२ असोज २ गते नकारात्मक सर्किट ब्रेकर लागेको थियो । यस्तै, २०८० फागुन २१ गते कम्युनिस्ट गठबन्धनको सरकार बन्ने भएपछि तथा २०८० मंसिर २४ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत सहजता गरेपछि नेप्सेमा सकारात्मक सर्किट लागेको थियो ।
यसैगरी, २०७८ मंसिर २८ गते सकारात्मक, २०७७ पुस ५ गते नकारात्मक, २०७७ साउन ४ गते सकारात्मक, २०७७ असार १८ गते नकारात्मक, असार १७ र १६ गते सकारात्मक तथा २०७६ फागुन १७ र १९ गते नकारात्मक सर्किट ब्रेकर लागेको थियो । तर, सर्किट ब्रेकरसम्बन्धी नयाँ व्यवस्था लागू भएपछि भने नेप्सेमा समग्र बजार परिसूचकका आधारमा सकारात्मक वा नकारात्मक सर्किट ब्रेकर लागेको छैन ।