बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन
सहज सञ्चार, खोज तथा उद्धार र राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेलले भोलि भदौ २० गतेदेखि थप ७ दिनका लागि निःशुल्क सेवा उपलब्ध गराउने जनाएको हो ।
काठमाडौं एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवाको अवधि पुनः ७ दिन थप गरेको छ। अब प्रभावित क्षेत्रमा भदौ २६ गतेसम्म भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुने भएको छ ।
सहज सञ्चार, खोज तथा उद्धार र राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेलले भोलि भदौ २० गतेदेखि थप ७ दिनका लागि निःशुल्क सेवा उपलब्ध गराउने जनाएको हो ।
यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसपछि उक्त सेवा अवधि थप ७ दिन बढाएर भदौ १९ गतेसम्म पुर्याइएको थियो ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्को समयमा सहज सञ्चार सुनिश्चित गर्न निःशुल्क सेवा अवधि पुनः थप गरिएको बताए । उनका अनुसार बाढीका कारण अवरुद्ध भएका टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेका छन् ।
उनले निःशुल्क सञ्चार सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
९२ प्रतिशत टावर पुनः सञ्चालनमा
भोटेकोशी बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका एनसेलका ९२ प्रतिशत टावर पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। बाँकी टावरहरू पनि पुनः सञ्चालनमा ल्याउन आवश्यक काम भइरहेको एनसेलले जनाएको छ ।
बाढीका कारण एनसेलका कुल २७ वटा टावर अवरुद्ध भएका थिए । बिहीबार कम्पनीले नुवाकोटको त्रिशूलीमा रहेको आफ्नो २५औँ टावर पुनः सञ्चालनमा ल्याएको थियो ।
रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एउटा टावर भने बाढीका कारण पूर्ण रूपमा नष्ट भएको छ । त्यस्तै, रसुवाकै उत्तरगया, तिरुमा रहेको अर्को टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण पुर्याई सेवा पुनः सञ्चालन गर्न समन्वय भइरहेको कम्पनीले जनाएको छ ।
एनसेलले विपद्का समयमा सञ्चार सेवा निरन्तर राख्दै खोज, उद्धार, राहत तथा जनचेतना अभिवृद्धिका कार्यमा सहयोग गर्दै आएको जनाएको छ । सम्बन्धित निकायले जारी गरेका जानकारीमूलक सन्देशहरू एसएमएस, कल टोन तथा सामाजिक सञ्जालमार्फत समेत सम्प्रेषण गरिँदै आएको छ ।
यसैगरी, बाढी गएको भोलिपल्टै एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत १ करोड रुपैयाँ सहयोग गरेको थियो ।
