नेप्सेमा १५.४४ अंकको वृद्धि, कारोबार रकम पनि सामान्य बढ्यो
मंगलबार २ अर्ब ९० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज २ अर्ब ९४ करोड २७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काठमाडौं । आज पनि सेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक बढेर बन्द भएको सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक १५.४४ अंक बढेर २५३८.११ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ । मंगलबार २ अर्ब ९० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज २ अर्ब ९४ करोड २७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ११.८७ प्रतिशत बढेको छ। त्यस्तै, माथिल्लो मैलुङ्ग खोला जलविद्युतको सेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको एनएमबि इनर्जी बण्ड ४ प्रतिशत २०९३/९४ को मूल्य सर्वाधिक ५.८१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा सानिमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड १७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
बुधबार कारोबारमा आएकामध्ये १९३ कम्पनीको सेयर मूल्य बढ्दा ७५ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
