बाढीबाट प्रभावित सूचीकृत कम्पनीको सेयर कारोबारमा विशेष निगरानी राख्न नेप्सेलाई सेबोनको निर्देशन
बोर्डले प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विस्तृत सूची तत्काल तयार गरी उपलब्ध गराउन सम्बन्धित निकायलाई भनेको छ ।
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हालैको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । धितोपत्र सम्बन्धी ऐनको दफा ८४ (१) अनुसार जारी निर्देशमा लगानीकर्ताको हित संरक्षण र बजार पारदर्शिता कायम राख्न नेप्सेलाई कार्यदेश दिइएको हो ।
विशेषगरी त्रिशूली तथा भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत आयोजना, प्रसारण संरचना र अन्य भौतिक पूर्वाधारमा बाढीका कारण क्षति पुगेपछि बोर्डले लगानीकर्ताको हित संरक्षण, बजार पारदर्शिता तथा धितोपत्र कारोबारलाई व्यवस्थित गर्न यस्तो निर्देशन दिएको हो ।
बोर्डले प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विस्तृत सूची तत्काल तयार गरी उपलब्ध गराउन सम्बन्धित निकायलाई भनेको छ । प्रभावित कम्पनीबाट आयोजना, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था तथा व्यवसायमा परेको असरसम्बन्धी विवरण संकलन गरी कम्पनीको आधिकारिक माध्यम तथा सूचना प्रणालीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ ।
