भोटेकोशी बाढीको असर सेयर बजारमा: नेप्से ३५.९२ अंकले घट्यो, हाइड्रोपावर र निर्जीवन बीमा समूहमा पहिरो
बुधबार सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज नेप्से ३५.९२ अंकले घटेर २५५८.३५ को विन्दुमा कायम भएको छ ।
काठमाडौँ । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीको प्रभाव बुधबारको सेयर बजारमा देखिएको छ । बुधबार सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज नेप्से ३५.९२ अंकले घटेर २५५८.३५ को विन्दुमा कायम भएको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.०० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । आज नेप्सेमा कुल ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ४ अर्ब ८ करोड माथिको कारोबार भएको थियो । सर्वोत्तम पेन्ट्सको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य करिब साढे १० प्रतिशत बढेको छ ।
खासगरी, भोटेकोशी नदीमा बुधबार बिहान आएको अकस्मात् बाढीको असर सेयर बजारमा पनि देखिएको हो । आज रसुवागढी हाइड्रोपावर कम्पनी र मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य करिब १३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज चिलिमे हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २० करोड ५६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै,सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब साढे १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.९० प्रतिशत घटेको छ । त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक करिब ३ प्रतिशत घटेको छ भने वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
बुधबार कारोबारमा आएकामध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २५२ कम्पनीको घटेको छ । यस्तै, ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
