दबाबबाट निस्किन खोजिरहेको सेयर बजार, कस्ता सकारात्मक विषयले ठाउँ पायो ?

विज्ञापन
ncell

काठमाडौं । निरन्तर दबाबमा देखिएको सेयर बजार परिसूचक नेपाल स्टक एक्सेचन्ज (नेप्से) असार ३० गतेदेखि सुधारको यात्रामा अघि बढेको छ । खासगरि पछिल्ला ४ दिनमा नेप्से १०७.३५ अंकले बढेको छ ।

लगानीकर्ताको एउटा समूहले सुरु गरेको भनिएको आन्दोलन, पुँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डको बजार सुधारको प्रयासमा देखिएको अग्रसरता, प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीचको भेटवार्ता, घट्दो ब्याजदरको निरन्तरता, मार्जिन कारोबारमा ब्रोकरहरुको अग्रसरता, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले हटाउने अफवाहलगायतका कारणले बजारमा सकारात्मक प्रभाव परेको अनुमान गर्न सकिन्छ ।

त्यति मात्रै होइन आर्थिक वर्ष २०८२/८३ सकिएर आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै प्रकाशित हुने सूचीकृत कम्पनीका वित्तीय विवरणको प्रभाव नेप्सेमा पर्ने विश्लेषण हुन थालेको छ ।

लगानीकर्ताको आन्दोलन र बजार सुधारमा बोर्डको सक्रियता

असार १५ गते डा. गोपाल प्रसाद भट्टले नेपाल धितोपत्र बोर्डमा अध्यक्षको जिम्मेवारी सम्हालेसँगै उनी पुँजीबजारका समस्या समाधान गर्न केन्द्रित रहेको संकेत गरेका छन् । अध्यक्ष भट्टले कार्यभार सम्हालेदेखी बोर्डको नियामकीय क्षेत्राधिकार भित्र रहेका धितोपत्र बजार, सिडिएस एण्ड क्लिरिङ्ग (सिडिएससी), धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर र धितोपत्र दलाल) सम्बद्ध एसोसिएसनहरू, क्रेडिट रेटिङ्ग एजेन्सीहरू, सर्वसाधारण लगानीकर्ताहरू एवम् पुँजी बजारसँग सरोकार राख्ने विभिन्न निकायहरूसँग भेटघाट तथा परामर्श गरिरहेका बेला सेयर बजारमा गिरावट आएको भन्दै लगानीकर्ताका एक समूहले आन्दोलनको घोषणा गरे ।

लगातारको गिरावटले निराश बनेका लगानीकर्ताको एउटा समूहले असार ३० गते बोर्ड अगाडि प्रदर्शन गरे । प्रदर्शनका क्रममा लगानीकर्ताहरुले बजारमा देखिएको निरन्तर गिरावट रोक्न सरकार र नियामक निकायले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका थिए । लगानीकर्ताले आन्दोलन गरेकै दिन नेप्से ६.११ अंकले बढेर २५७६.२९ बिन्दुमा बन्द भएको थियो भने ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

अध्यक्ष भट्टले असार ३० गते नै नेपालको पूँजी बजार विकास मार्गचित्र २०८३ र आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति ल्याए । त्यसैगरि अध्यक्ष भट्टले धितोपत्र बजारका प्रमुख पूर्वाधार निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससीका उच्च पदस्थ पदाधिकारीसँग छलफल गरे र उनीहरुसँग ठोस कार्ययोजना यथाशिघ्र पेश गर्न निर्देशन दिँदै सर्ट सेलिङ सेवा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिए । बोर्डले मार्गचित्र सार्वजनिक गरेपछि असार ३१ गते नेप्से १४ अंकले बढेर २५९०.२९ बिन्दुमा उक्लियो ।

त्यसैगरि साउन १ गते शुक्रबार संस्थागत लगानीकर्ताको भूमिका सशक्तिकरण गर्ने उद्धेश्यले बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणसहित तीन ठूला सरकारी कोषहरु (कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष) का प्रमुखहरुसँग छलफल गरे ।

यी निकायमा रहेको करीव २० खर्ब रुपैयाँबराबरको रकम पुँजी बजारमा लगाउने तथा त्यसलाई दिर्घकालसम्म स्थिर बनाउन क(कसले के गर्नुपर्छ भन्ने विषयमा धारणाहरु लिए । अध्यक्ष भट्टले आगामी दिनमा संस्थागत लगानीलाई विस्तारित गर्न आवश्यक कानुनी संशोधन, प्रविधि तथा जनशक्ति व्यवस्थापन र आवश्यक पूर्वाधार विकासमा बोर्ड सबै प्रकारको सहजीकरण गर्न तयार रहेको बताए ।

प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच एक घण्टा छलफल

असार ३२ गते प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच एक घण्टा लामो भेटवार्ता भयो । प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीचको भेटवार्तालाई सेयर बजारसँग सम्बन्धित भनेर प्रचार गराईयो ।

खासगरि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बाईपास गरेर भएको भेटले अर्थमन्त्री वाग्लेसँग प्रधानमन्त्री शाहको दुरी बढेको र अब अर्थमन्त्री हटाउने भन्ने हल्ला बजारमा चलिरहेको छ । जसको असर दिनभर दबाबमा रहेको नेप्से अन्तिम मिनेटमा ७.५० अंकले सुधारिँदै २५९७.८० बिन्दुमा बन्द भयो । प्रधानमन्त्री शाह र गभर्नर पौडेलको भेटको विषयले शुक्रबार बजारमा विशेष प्रभाव पार्यो र शुक्रबार नेप्से ७९.७४ अंकको वृद्धि देखियो ।

सेयर लगानीकर्ता तथा बजार विश्लेषक डम्मरु वल्लभ घिमिरे शुक्रबारको वृद्धिलाई पूर्ण रूपमा स्वाभाविक मान्दैनन् । घिमिरेका अनुसार प्रधानमन्त्री र गभर्नरबीचको भेटपछि मौद्रिक नीतिमा गरिएका केही लचक व्यवस्थाले बजारलाई सकारात्मक बनाएको हो ।

बलिया कम्पनीको सेयर धितो कर्जाको सीमा ८० प्रतिशत पुर्‍याइनु, कर्जासम्बन्धी केही प्रतिबन्ध हटाइनु जस्ता व्यवस्थाले बजारलाई सहयोग पुगेको उनको भनाइ छ । तर उनी कारोबार रकमप्रति प्रश्न उठाउँछन् ।

‘यदि बजारमा वास्तविक मागका आधारमा ७९ अंकको वृद्धि भएको हो भने कारोबार रकम ८ देखि १० अर्ब रुपैयाँ पुग्नुपर्थ्यो। सूचक ठूलो अंकले बढ्दा पनि कारोबार करिब ४ अर्ब रुपैयाँमै सीमित रहनु स्वाभाविक देखिँदैन,’ घिमिरेले भने । घिमिरेले केही ठूला खेलाडीको सक्रियताले कृत्रिम रूपमा बजार बढाइएको हुन सक्ने आशंका व्यक्त गरे । सोमबारको कारोबारले नै शुक्रबारको उछाल दिगो हो वा अस्थायी भन्ने पुष्टि गर्ने घिमिरेको भनाई छ ।

चौथो त्रैमासिक वित्तीय विवरण र साउन प्रभाव

साउन महिना पुँजी बजारका लागि विशेष महत्व राख्छ । असारको क्लोजिङ सकिएको र पुरानो आर्थिक वर्षको सबै काम सकिएकाले बजारमा सकारात्मक प्रभाव परेको हुनसक्छ । असारमा मार्जिनको प्रेसर थियो । क्लोजिङ सकिएसँगै लगानीकर्ता केही समयलाई फेरी खुला भएका छन् र सेयर किन्न सुरु गरेका छन् ।

‘नयाँ आर्थिक वर्ष सुरु भएसँगै सूचीकृत कम्पनीहरूको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुने क्रम सुरु हुन्छ । वित्तीय विवरण प्रकाशित भएसँगै कम्पनीहरुको नाफा र सम्भावित लाभांशको अनुमान गर्न सजिलो हुन्छ । लामो समय सेयर पालेर बसेका लगानीकर्ताहरुले अब छिट्टै लाभांस पाउन अवस्था आउँने भएकाले लगानीकर्ताको ध्यान वित्तीय सूचकतर्फ केन्द्रित हुने गर्छ । यसपटक पनि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आर्थिक वर्ष समाप्त भएको १५ दिन अर्थात् साउन १५ भित्र उठेको ब्याजलाई गत आर्थिक वर्षर्क आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरिदिएको छ ।

यसले बैंकहरूको नाफा बढाउन सहयोग पुग्ने भएकाले बैंकिङ क्षेत्रका सेयरप्रति लगानीकर्ताको आकर्षण बढ्ने अपेक्षा गरिएको छ । त्यति मात्रै होइन साउनमा अझै व्याजदर घटेको र मौद्रिक नीतिमार्फत ब्याजदर नबढाउने नीति लिइएको र सेयर धितो कर्जालाई अझ खुकुलो बनाइएकाले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अनमुान गरिएको छ ।

साउन लागेपछि बजार बढ्छ भन्ने एउटा साझा मनोविज्ञान सधैँ रहेको पाईन्छ । त्यो मनोविज्ञानले पनि काम गरेको हुनुपर्छ किनभने गत वर्ष साउन १३ गते गतवर्षकै उच्च विन्दु (३००२.०७ अंक) मा नेप्से पुगेको थियो । 

पुँजी बजार विश्लेषक देव गुरागाईं भने पछिल्लो सुधारलाई सरकारको बदलिएको दृष्टिकोणसँग जोड्छन् । उनका अनुसार प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा सेयर बजारप्रति चासो देखाउनु नै लगानीकर्ताका लागि सकारात्मक संकेत बनेको छ । साथै सम्पत्ति छानबिन आयोगको प्रक्रिया रोकिएको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी नीतिमा सरकार केही व्यवहारिक बनेको सन्देशले पनि बजारको मनोविज्ञान सुधारिएको विश्लेषण गुरागाईंको छ ।

गुरागाईंका अनुसार सेयर धितो कर्जाको सीमा ७० प्रतिशतबाट ८० प्रतिशत पुर्‍याइनु पनि बजार उकालो लाग्नुको अर्को प्रमुख कारण हो । ‘सरकार प्रारम्भिक कडाइबाट क्रमशः व्यवहारिक मोडमा पुगेको संकेत बजारले बुझेको छ ।

त्यसैले लगानीकर्ताको आत्मविश्वास फर्किन थालेको देखिन्छ,’ उनले भने । यद्यपि उनले पनि बजार एकै दिनमा निरन्तर ७०/८० अंकले बढ्ने अपेक्षा गर्न नहुने बताउँछन् । पछिल्ला चार कारोबार दिनको सुधारलाई बजारले निरन्तरता दिन सके मात्रै अपट्रेन्ड पुष्टि हुने गुरागाईंले बताए । 

सम्पत्ति छानबिन आयोगलाई काम गर्न रोक

सम्पत्ति छानबिन आयोगले आफ्ना काम कारबाही तत्कालका लागि रोकेको सूचना प्रकाशित गरेसँगै त्यसको प्रभाव सेयर बजारमा परेको बुझाई एकथरिको छ । आयोगमा सम्पत्ति विवरण बुझाउनु पर्ने भएका कारण सेयरमा लगानी गर्दै आएका अवकाशप्राप्त कतिपय कर्मचारीहरु डराएको अवस्था थियो ।

उनीहरुले बजारबाट धमाधम हात झिकिरहेको स्थितिमा सर्वोच्च अदालतको अन्तरिम आदेश दिँदै तत्कालका लागि छानबिनको सबै काम स्थगित गर्न आदेश दिएसँगै त्यसको सकारात्मक प्रभाव लगानीकर्तामा परेको अनुमान गरिएको छ । 

बजार बढ्नुमा नीतिगत आशा र केही राजनीतिक हल्लाले भूमिका खेलेको हुनसक्छ । खासगरि धितोपत्र बोर्डमा अध्यक्ष भएर आएसँगै भट्टले देखाएको अग्रसरता, प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीचको भेटवार्ताले पनि पुँजीबजारका पक्षमा सकारात्मक माहोल बनाएको मान्न सकिन्छ ।

त्यस्तै धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले मार्जिन कारोबारमा देखाएको सक्रियता र तयारी पनि बजारलाई नयाँ गतिमा अघि बढाउन उत्प्ररित गरेको हुनसक्छ । नयाँ आर्थिक वर्षसँगै सुरु भएको सकारात्मक मनोविज्ञान, नियामक निकायको सक्रियताले संस्थागत लगानीकर्तामा जगाएको आशा, मौद्रिक नीतिमा गरिएको लचकता तथा सरकारबाट आएका सकारात्मक संकेतले बजारमा उत्साह देखिएको छ । तर, विश्लेषकहरू यो सुधार दिगो हो वा अल्पकालीन भन्ने प्रश्नको उत्तर आगामी कारोबारले दिने बताउँछन् ।

विशेषगरी कारोबार रकम, खरिद(बिक्रीको सन्तुलन र सूचकको स्थायित्वले नै नेप्सेले नयाँ बुलिस चक्र सुरु गरेको हो वा हालको वृद्धि केवल मनोवैज्ञानिक प्रतिक्रिया मात्रै हो भन्ने स्पष्ट पार्नेछ ।