सेयर लगानीकर्ता पुगे धितोपत्र बोर्ड घेर्न, ब्रोकरको कार्यालय बन्द गर्न आह्वान
लगानीकर्ताहरूले पूँजी बजारमा देखिएको निरन्तर गिरावट रोक्न सरकार र नियामक निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् ।
काठमाडौं । नयाँ सरकार बनेपछि पनि सेयर बजार निरन्तर घटेको भन्दै सेयर लगानीकर्ताका एक समूह पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) घेराउ गर्न पुगेका छन् ।
लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताको एउटा समूह आज बिहानै सेबोन कार्यालय पुगेको बताइएको छ । त्यही समूहका एक सदस्य हरि ढकाल अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद छन् । निरन्तर सेयर बजार घटेपछि ढकाल र कोइरालाको नेतृत्वमा २०७५ मा आमरण अनसन नै बसेका थिए । तर, २०७९ निर्वाचनमा ढकाल रास्वपाबाट संघीय सांसद निर्वाचित भए भने उनीसँग परजित डा.विश्नाथ पौडेल २०८२ मा नेपाल राष्ट्र बैंकको गभर्नर बने । ढकाल २०८२ फागुन २१ को आम निर्वाचनमा चितवन १ बाट रास्वपाका तर्फबाट प्रतिनिधसभा सदस्यमा निर्वाचित भएका छन् ।
बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ता फेरी एक पटक सेबोन घेराउ गर्न पुगेका हुन् । बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि बजार ३८० अंकले घटेको छ । मंगलबार पनि सुरुवाती समयमा १३ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५५७ अंकमा झरेको छ र बजार घट्ने क्रममा निरन्तरता दिइरहेको छ । निरन्तर बजार घटिरहँदा के हुने हो भनेर लगानीकर्ता त्रसित बनेका छन् ।
लगानीकर्ताहरुले सरकारी तबर बजार उकास्न ठोस नीति आवश्यक रहेको र लगानीकर्ताको मनोबल बढाउने गतिविधि अघि बढाउन माग गर्दै आएका छन् । लगानीकर्ताहरूले पूँजी बजारमा देखिएको निरन्तर गिरावट रोक्न सरकार र नियामक निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् ।
लगानीकर्ता कोइरालाले सोमबार साँझ सामाजिक सञ्जालबाट आन्दोलनको आब्ह्वान गर्दै लगानीकर्ताहरुलाई ऐक्यवद्धताका लागि सेवो आउन र धितोपत्र दलाल व्यवसायी संघको कार्यालयमा ताला लगाई ब्रोकरहरुको कारोबार स्थगित गराउन दबाब सिर्जना गर्द आह्वान गरेका थिए । सोही कार्यक्रमहरु अनुसार लगानीकर्ताको एउटा समूह सेवोन पुगेको हो ।
