नेप्से ३०.६० अंकले घटेर ८ महिनायताकै न्यून विन्दुमा, कारोबार रकम भने ७ अर्ब ४६ करोड पुग्यो

सोमबार नेप्से परिसूचक ३०.६० अंक घटेर २५७०.१८ विन्दुमा झरेको छ । यो पछिल्लो करिब ८ महिनायताकै न्यून विन्दु हो । आज ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

सोमबार नेप्से परिसूचक ३०.६० अंक घटेर २५७०.१८ विन्दुमा झरेको छ । यो पछिल्लो करिब ८ महिनायताकै न्यून विन्दु हो। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक घटेको छ । सोमबार नेप्सेका सबै १३ उपसमूहको परिसूचक घटेका छन् । व्यापार उपसमूह सबैभन्दा बढी २.३० प्रतिशतले घटेको छ ।

त्यस्तै वित्त, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा तथा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। बजारमा बिक्री दबाब कायम रहे पनि ऋणपत्र कारोबार बढ्नुले लगानीकर्ताको ध्यान वैकल्पिक वित्तीय उपकरणतर्फ समेत बढेको संकेत गरेको छ ।

नेप्से घटेपनि आज कारोबार रकम बढेको छ । आज ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । शुक्रबार भने अर्ब ८६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । 

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज उक्त कम्पनीका लगाानीकर्ताले ५.३७ प्रतिशतका दरले कमाएका हुन् । सिटिजन्स बैंक डिबेञ्चर २०८६ का यकाईधनीले ५.३१ प्रतिशतका दरले कमाएका छन् । कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज उपकारका लगानीकर्ताले ११.२८ प्रतिशतका दरले गुमाएका हुन् ।

कारोबार रकमका आधारमा आज एनएमबि डिबेञ्चर ८.५० प्रतिशत २०८७/८८ शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४८ करोड ४६ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को ४६ करोड ६५ लाख रुपैयाँभन्दा सेयर कारोबार भएको छ ।  

सोमबार कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।