मौद्रिक नीति प्रतीक्षामा सेयर बजारमा हरियाली, ४ अर्ब ४० करोडको कारोबार
पछिल्ला दुई कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा पुगेको हो । आज नेप्सेमा कुल ४ अर्ब ४० करोड ७ लाख माथिको कारोबार भएको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति बजारमैत्री र लचिलो ल्याउने अपेक्षासँगै मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।
पछिल्ला दुई कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा पुगेको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ४.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । यस दिन कारोबार भएका १३ वटै उपसमूहको परिसूचक बढेका छन् । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशतले बढेको छ । बैंकिङ र विकास बैंक उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
आज नेप्सेमा कुल ४ अर्ब ४० करोड ७ लाख माथिको कारोबार भएको छ । सोमबार भने नेप्सेमा कुल २ अर्ब ७६ करोड माथिको मात्रै कारोबार भएको थियो । कालंगा हाइड्रोको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, आरबिबि फोकस ४० को इकाईमूल्य करिब १४ प्रतिशत बढेको छ भने सानिगाड हाइड्रोको सेयरमूल्य साढे १० प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा आज १० प्रतिशत केबिएल डिबेञ्चर २०९० शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको आज २० करोड ७५ लाख रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, करिब १८ करोड रुपैयाँको १०।३५ प्रतिशत एग्रीकल्चर बैंक डिबेञ्चर २०८३ कारोबार भएको छ ।
मंगलबार कारोबारमा आएकामध्ये २१० कम्पनीको सेयर मूल्य बढ्दा ५७ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।