फास्ट ट्र्याकको बीमालेखमा अनियमितताः ६ निर्जीवन बीमा कम्पनीलाई २/२ लाख जरिवाना, सीईओलाई चेतावनी

प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सानिमा जीआइसी इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई कारबाही गरेको हो ।

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको छ । । काठमाडौं तराई मधेश फास्ट ट्रयाक आयोजनाको लागि बीमालेख जारी गर्दा बदमाशी गरेको पाइएपछि नेपाल बीमा प्राधिकरणले एकै साथ ६ वटा निर्जीवन बीमा कम्पनीविरूद्ध कारवाहीको निर्णय गरेको हो । प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सानिमा जीआइसी इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई कारबाही गरेको हो । उनीहरुलाई २/२ लाख रुपैयाँ जरिवाना गरिएको छ । 

प्राधिकरणको गत आइतबार बसेको बोर्ड बैठकले जरिवानाको साथै ६ वटै बीमकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाइ पुनः गल्ती नदोहोर्‍याउन लिखित चेतावनी समेत दिएको थियो । 

प्राधिकरणले निर्देशिकामार्फत् तोकेको भन्दा निक्कै कम बीमाशुल्कमा निर्जीवन बीमा कम्पनीहरूले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई मधेश फास्ट ट्रयाक आयोजनाको बीमालेख जारी गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अत्यन्तै सस्तो शुल्कमा बीमालेख जारी गरिएकाले आयोजना निर्माण स्थलमा क्षति भएको अवस्थामा जोखिम नै सुरक्षण नहुने अवस्था देखिएको भन्दै अख्तियार आयोगले अनुसन्धानका लागि प्राधिकरणलाई निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि प्राधिकरणका निर्देशक ध्रुब तिमल्सिनाको नेतृत्वमा उपनिर्देशकहरू केशव दाहाल, विरोध भट्ट, हृदयेश्वर पण्डित, राम कोजु सम्मिलित कार्यदलले अध्ययन गरेर अख्तियारमा प्रतिवेदन पेश गरेको थियो ।

प्रतिवेदनका आधारमा नियामकीय कारवाही गर्न आयोगले प्राधिकरणलाई निर्देशन दिएपछि प्राधिकरण सञ्चालक समितिले ६ वटा बीमक र तिनको प्रमुख कार्यकारी अधिकृतहरूविरूद्ध कारवाहीको निर्णय गरेको हो ।