‘मोन्था चक्रवात’को प्रभाव घटेसँगै आजदेखि मौसम खुल्दै जाने
बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने छ ।
काठमाडौं । बङ्गालको खाडीबाट उठेको ‘मोन्था’ चक्रवातका कारण प्रभावित देशभरको मौसममा क्रमशः सुधार हुने क्रममा छ ।
चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि आजदेखि मौसममा थप सुधार हुने मौसमविद्हरुको ले पुर्वानुमान गरेका छन् । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ भने आ केही स्थानमा आज पनि वर्षाको सम्भावना कायमै छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।