सरकारलाई सचेत बनाउनु मेरो जिम्मेवारी हो, पार्टीभित्रको बेथिति र अराजकता सहन्नः रवि लामिछाने

चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टी संगठन र सरकारबीच कुनै द्वन्द्व नभएको स्पष्ट पार्दै कार्यकर्ताहरूलाई मर्यादा र सुसंस्कृत राजनीतिक संस्कार अपनाउन निर्देशन दिए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकार सञ्चालनमा वाधक नबन्ने तर देशमा विधिको शासन स्थापना गर्न र बेथिति अन्त्य गर्न निरन्तर सचेत रहने बताएका छन् ।

चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टी संगठन र सरकारबीच कुनै द्वन्द्व नभएको स्पष्ट पार्दै कार्यकर्ताहरूलाई मर्यादा र सुसंस्कृत राजनीतिक संस्कार अपनाउन निर्देशन दिए । सभापति लामिछानेले पार्टी र सरकार दुवैले नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले न्यायालय र प्रहरी जस्ता राज्यका अंगहरूमाथि चोक-चोकमा बसेर गरिने अप्रमाणिक टिप्पणीले ती संस्थाको मनोबल गिर्ने भन्दै सचेत रहन आग्रह गरे । पार्टीभित्र बढ्दो ‘रिसोर्सेज’ वा धनशक्तिको प्रभावप्रति उनले चिन्ता व्यक्त गरे ।

कार्यकर्ताहरूलाई एकै व्यक्ति वा समूहको स्वार्थमा चल्ने कार्यशैलीले पार्टी कब्जा हुने खतरा रहेको भन्दै उनले त्यस्तो प्रवृत्तिप्रति सजग रहन आग्रह गरे । सामाजिक सञ्जालमा फरक विचार राख्नेहरूप्रति प्रयोग गरिने अश्लील र अमर्यादित भाषाको उनले निन्दा गरे ।

उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर मिडिया वा विपक्षीले विभिन्न अर्थ निकाल्न सक्ने भएपनि आफू लोकतान्त्रिक विधि र पार्टीको मूल्य-मान्यताप्रति पूर्ण प्रतिवद्ध रहेको बताए । उनले रास्वपाले छिट्टै देशव्यापी रूपमा ‘निलो क्रान्ति’ फैलाउने दाबी गर्दै कार्यकर्ताहरूलाई अनुशासित भएर मिसनमा लाग्न आह्वान गरे ।