पशुपन्छीप्रतिको आत्मीयता र संस्कृतिको सम्मान गर्न प्रधानमन्त्री शाहको आग्रह
यमपञ्चकको पहिलो दिन तथा काग तिहारका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नेपाली संस्कृति, परम्परा र पशुपन्छीप्रतिको आत्मीयताको चर्चा गरेका हुन् ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । यमपञ्चकको पहिलो दिन तथा काग तिहारका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नेपाली संस्कृति, परम्परा र पशुपन्छीप्रतिको आत्मीयताको चर्चा गरेका हुन् ।
कागलाई यमराजको दूत मानिने धार्मिक विश्वास उल्लेख गर्दै प्रधानमन्त्री शाहले कागलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्परा रहेको बताएका छन् । आधुनिक सञ्चारको विकास नहुँदा काग कराउँदा कतैबाट समाचार वा पाहुना आउन लागेको संकेतका रूपमा लिने गरिएको विश्वाससमेत उनले स्मरण गरेका छन् ।
उनले परिवारका सदस्यका नाममा यम दीपदान गर्ने परम्पराको चर्चा गर्दै यमराजलाई डरको प्रतीकका रूपमा मात्रै नभई न्यायको प्रतीकका रूपमा पनि बुझ्नुपर्ने बताएका छन् । यमराजले दुष्कर्म गर्नेलाई दण्ड र सत्कर्म गर्नेलाई संरक्षण गर्ने धार्मिक विश्वास रहेको उनको भनाइ छ ।
धन्वन्तरी जयन्तीका अवसरमा आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै प्रधानमन्त्री शाहले सबैमा निरोगी जीवनको कामना गरेका छन् ।
त्यस्तै, भोलि मनाइने कुकुर तिहारको प्रसंग उल्लेख गर्दै उनले कुकुरलाई मानव सभ्यताको विश्वासिलो र वफादार साथीका रूपमा व्याख्या गरेका छन् । घरको रखवारीदेखि अनुसन्धान र उद्धार कार्यसम्म कुकुरले मानिसलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले कुकुरप्रतिको प्रेम र कृतज्ञता व्यक्त गर्ने यस पर्वले अन्य जीवजन्तुप्रतिको सहअस्तित्व र सद्भावलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
‘सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा यी पर्वहरूले हामीलाई दिऊन्,’ प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा लेखेका छन्।
उनले आफ्नो सन्देशको अन्त्यमा ‘जय देश, जय संस्कृति’ उल्लेख गरेका छन्।