पर्यटन बोर्डको सीईओका लागि १६ जना सर्टलिस्टमा, मंसिर १० गते प्रस्तुतीकरण

उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन भनिएको छ।

काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्ति प्रक्रियाअन्तर्गत १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन् । बोर्डको कार्यकारी प्रमुख छनोट उपसमितिले आवेदन दिएका उम्मेदवारको मूल्यांकनपछि शुक्रबार संक्षिप्त सूची सार्वजनिक गरेको हो । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई अर्को चरणका लागि छनोट गरिएको उपसमितिको सूचनामा उल्लेख छ ।

संक्षिप्त सूचीमा आशुतोष प्रधान (चितवन), उत्तमप्रसाद देवकोटा (चितवन), टेकबहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौँ), राजाराम केसी (काठमाडौँ) र रामचन्द्र सेढाईं (गोरखा) परेका छन् । त्यसैगरी रोहिणीप्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्रीप्रसाद भट्टराई (रुपन्देही), सन्तोषविक्रम थापा (काठमाडौँ), सुरेशसिंह बुडाल (बैतडी) र हिकमतसिंह ऐर (कञ्चनपुर) पनि संक्षिप्त सूचीमा समावेश भएका छन् ।

छनोट उपसमितिले उम्मेदवारहरूको नाम योग्यताक्रमका आधारमा नभई वर्णानुक्रमअनुसार सार्वजनिक गरेको जनाएको छ । संक्षिप्त सूचीमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन भनिएको छ। उनीहरूले शैक्षिक योग्यता तथा कार्यानुभवका सक्कल प्रमाणपत्रसहित उपस्थित भएर प्रस्तुतीकरण दिनुपर्नेछ । बोर्डले गत भदौमा कार्यकारी प्रमुख नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो। उक्त पदका लागि ४२ जनाको आवेदन परेको विवरण यसअघि सार्वजनिक भएको थियो । 

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अनुसार कार्यकारी प्रमुखका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र पर्यटन क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव भएको व्यक्ति योग्य मानिन्छ। बोर्डको कार्यकारी प्रमुखको पदावधि चार वर्ष रहने कानुनी व्यवस्था छ । अब संक्षिप्त सूचीमा परेका उम्मेदवारको प्रस्तुतीकरण तथा बाँकी छनोट प्रक्रिया पूरा गरी बोर्डको नयाँ कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गरिनेछ ।