हरेक साता सुधारका योजना थपिँदै, सेयर बजारमा किन देखिएन प्रभाव ?

काठमाडौं । पुँजी बजार सुधारका लागि हरेक हप्ता जस्तो नयाँ नयाँ योजनाहरु सार्वजनिक भइरहेको छ । नयाँ योजनाहरु लगानिकर्ताको हित अनुसार भए पनि त्यसको खास असर भने बजारमा देखिएको छैन ।

गत साता मात्रै सरकारले राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै धितोपत्रमा गरिएको लगानी न्यूनतम ४५ दिन होल्ड गरे पुग्ने व्यवस्था गरेको छ । यसअघि यस्तो लगानी न्यूनतम ६ महिना होल्ड गर्नुपर्ने व्यवस्था थियो । होल्डिङ अवधि घटाइएपछि बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, नेपालको सेयर बजारमा लामो समयदेखि चर्चामा रहेको अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) कार्यान्वयनतर्फ पनि औपचारिक प्रक्रिया अघि बढेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले इन्ट्राडे ट्रेडिङका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्था तयार गर्ने उद्देश्यले ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) कार्यान्वयनसम्बन्धी अवधारणापत्र, २०८३’ सार्वजनिक गरेको छ ।

बोर्डले अवधारणापत्र सार्वजनिक गर्दै सरोकारवालाबाट राय, सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्न सार्वजनिक परामर्श सुरु गरेको हो । यसको अर्थ तत्कालै नेप्सेमा इन्ट्राडे कारोबार सुरु भइसकेको भने होइन । आवश्यक कानुनी व्यवस्था, योग्य धितोपत्र र लगानीकर्ताको मापदण्ड, जोखिम व्यवस्थापन, ब्रोकरको प्रणाली, बजार निगरानी तथा प्राविधिक पूर्वाधार तयार गरेपछि परीक्षण र पाइलटमार्फत चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव बोर्डले अघि सारेको छ ।

अन्तरदिवसीय कारोबार लागू भएमा लगानीकर्ताले एउटै कारोबार दिनमा सेयर किनेर त्यही दिन बिक्री गरी कारोबार बन्द गर्न सक्नेछन् । अहिले नेपालको दोस्रो बजारमा सेयर खरिद गरेपछि सेटलमेन्ट तथा डेलिभरी प्रक्रियामार्फत कारोबार सम्पन्न हुने व्यवस्था छ । इन्ट्राडे ट्रेडिङले बजारमा कारोबारको गति र तरलता बढाउन सक्ने अपेक्षा गरिए पनि यसको वास्तविक प्रभाव भने कार्यान्वयनपछि मात्रै देखिनेछ ।

यस्ता सुधारका योजना सार्वजनिक भइरहँदा पनि अघिल्लो साता देखिएको बजारको उत्साह यो साता कायम रहन सकेन । अघिल्लो साता उल्लेख्य अंकले बढेर लगानीकर्तामा आशा जगाएको बजारमा यो साता सामान्य गिरावट आएको छ । सरकारी योजनाप्रति लगानीकर्ताको पूर्ण विश्वास स्थापित हुन नसक्नु, अघिल्लो साताको वृद्धिपछि नाफा बुक गर्ने प्रवृत्ति बढ्नु तथा चाडपर्व नजिकिँदै जाँदा बजारमा देखिएको मौसमी दबाबले नेप्सेको वृद्धिलाई रोक्दै सामान्य गिरावटतर्फ धकेलेको देखिन्छ ।

यो साता सेयर बजारमा तीन दिन मात्रै कारोबार भयो । तीमध्ये दुई कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो । तर, साताभरको समग्र कारोबारलाई हेर्दा नेप्से परिसूचक १७.९७ अंकले घटेर २६२९.२५ विन्दुमा झरेको छ । अघिल्लो साता भने नेप्से परिसूचक ८८.२२ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेको थियो । यसरी अघिल्लो साता उल्लेख्य सुधार देखिएको बजारले यो साता त्यसलाई कायम राख्न सकेन ।

असोज ५ गते डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण नेप्सेको कारोबार प्रभावित भएको थियो भने शुक्रबार इन्द्रजात्राका कारण बजार बन्द रह्यो । यसले गर्दा नियमित पाँच कारोबार दिनको सट्टा यो साता तीन दिन मात्रै सेयर किनबेच भयो । कारोबार दिन कम हुँदा समग्र बजार गतिविधि र कारोबार रकममा पनि त्यसको प्रभाव परेको छ ।

तीन कारोबार दिनमा कुल १८ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो साता पाँच कारोबार दिनमा करिब ३० अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार दिन कम हुनु कारोबार रकम घट्नुको प्रमुख कारण भए पनि नेप्से परिसूचकसमेत घट्नुले बजारमा खरिद पक्षको उत्साह अपेक्षाकृत बलियो हुन नसकेको देखाउँछ ।

साप्ताहिक आधारमा हेर्दा यो साता नेप्सेमा सामान्य गिरावट आएको छ । अघिल्लो साता बजारमा बुलिस प्रकृतिको क्यान्डल बनेको थियो भने यो साता सामान्य बेरिस प्रकृतिको क्यान्डल बनेको देखिन्छ । प्राविधिक विश्लेषणमा बुलिस क्यान्डलले खरिदकर्ताको बलियो उपस्थिति र मूल्य वृद्धिको संकेत गर्छ भने बेरिस क्यान्डलले बिक्री पक्षको दबाबलाई संकेत गर्छ । यद्यपि, एक साताको गिरावट र क्यान्डलको स्वरूपलाई मात्रै आधार बनाएर बजारको समग्र प्रवृत्ति समाप्त भएको निष्कर्ष निकाल्न सकिँदैन ।

किन घट्यो बजार ?

यो साताको बजार गिरावटलाई मुख्यतः अघिल्लो साताको वृद्धिपछि भएको नाफा बुकिङ, चाडपर्वको समय र बजारप्रतिको लगानीकर्ताको मनोवैज्ञानिक अवस्थासँग जोडेर हेर्न सकिन्छ । अघिल्लो साता नेप्से ८८.२२ अंकले बढेपछि छोटो अवधिमै नाफामा पुगेका लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री गरेको हुन सक्छन् । यस्तो अवस्थामा खरिदको तुलनामा बिक्री दबाब बढ्दा बजारको वृद्धिले निरन्तरता पाउन कठिन हुन्छ ।

चाडपर्व नजिकिँदै जाँदा घरायसी खर्च तथा अन्य आर्थिक आवश्यकताका लागि रकमको जोहो गर्नुपर्ने भएकाले केही लगानीकर्ताले सेयर बिक्री गर्न सक्ने अवस्था पनि रहन्छ । त्यस्तै, सम्भावित वर्षा तथा बाढीको जोखिमले जलविद्युत् र बीमा कम्पनीका सेयरमा समेत लगानीकर्ताको मनोविज्ञान प्रभावित हुन सक्ने बजार विश्लेषण छ । 

सुधारका योजना आए पनि किन आएन उत्साह ?

पुँजी बजार विश्लेषक देव गुरागाईंका अनुसार सरकारले पुँजी बजार सुधारका लागि गरेका प्रयास सकारात्मक भए पनि त्यसको प्रभाव बजारमा देखिन केही समय लाग्छ । उनका अनुसार सरकारले ल्याएको २१ बुँदे कार्ययोजनाअन्तर्गतका केही व्यवस्था कार्यान्वयनमा आइसकेका छन् भने केही नीतिगत तथा प्राविधिक तयारीका क्रममा छन् ।

पुँजीगत लाभकर घटाउने निर्णय पनि कार्यान्वयनमा आइसकेको छ । दीर्घकालीन लगानीकर्ताका लागि पुँजीगत लाभकर ५ प्रतिशतबाट ३।७५ प्रतिशतमा झारिएको छ । तर, गुरागाईंका अनुसार पुँजीगत लाभकर नै बजार घट्नुको प्रमुख कारण थिएन । सरकारले लगानीकर्ताको चासोलाई सम्बोधन गर्न कर घटाए पनि त्यसको तत्कालै बजारमा ठूलो प्रभाव नदेखिनुले बजारको समस्या करमा मात्र सीमित नरहेको देखाउने उनको भनाइ छ ।

उनका अनुसार पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विगतका केही कारोबार र त्यससँग जोडिएका विषय बाहिर आएपछि विशेषगरी ठूला लगानीकर्ता सतर्क बनेका छन् । बजारका केही कमजोरीको फाइदा उठाएर अनुचित लाभ लिएको विषय बाहिर आएपछि लगानीकर्ताको विश्वास प्रभावित भएको उनको विश्लेषण छ ।

‘केही ठूला खेलाडीले बजारका कमजोरीको फाइदा उठाएर कमाउने गरेको विषय बाहिर आएपछि लगानीकर्ताहरू नै त्रसित भएका छन्,’ गुरागाईंले भने ।

ठूला लगानीकर्ताको सक्रियता घट्दा उनीहरूको कारोबार शैली पछ्याउने साना लगानीकर्ता पनि सतर्क बनेको उनको भनाइ छ । नेपालको सेयर बजारमा खुद्रा लगानीकर्ताको बाहुल्य रहेकाले बजारको माग बलियो बनाउन संस्थागत लगानीकर्ताको सहभागिता बढाउन आवश्यक रहेको गुरागाईं बताउँछन् ।

सरकारको २१ बुँदे कार्ययोजनामा संस्थागत तथा विदेशी संस्थागत लगानीकर्ता र गैरआवासीय नेपालीलाई बजारमा आकर्षित गर्ने विषय समेटिएको छ । यस्ता लगानीकर्ताको सहभागिता बढेमा बजारको माग पक्ष बलियो बन्न सक्ने उनको भनाइ छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा गरेको लगानीको होल्डिङ अवधि घटाउने व्यवस्थाले पनि बजारमा माग बढाउन सहयोग गर्न सक्ने उनले बताए । राष्ट्र बैंकले यससम्बन्धी व्यवस्था कार्यान्वयनका लागि परिपत्र जारी गरिसकेको र यसको प्रभाव आगामी दिनमा देखिन सक्ने उनको भनाइ छ ।

सेबोनका सुधारले कस्तो प्रभाव पार्ला ?

गुरागाईंका अनुसार सेबोनले पछिल्लो समय पुँजी बजार सुधारका लागि लगातार नीतिगत प्रस्ताव अघि बढाइरहेको छ । आईपीओको मूल्य निर्धारण तथा मूल्य खोजी प्रक्रियालाई व्यवस्थित बनाउने अवधारणा, बजारको दीर्घकालीन विकासका लागि मार्गचित्र तथा अन्य नियामकीय सुधारका प्रस्ताव त्यसका उदाहरण हुन् ।

पाँच प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका आधारभूत सेयरधनीले आफ्नो सेयर बिक्री गर्दा पूर्वसूचना दिनुपर्ने व्यवस्थामा सुधार गर्ने विषयसमेत अघि बढेको उनले बताए । उनका अनुसार नयाँ नीति घोषणा हुँदैमा तत्काल बजारमा प्रभाव देखिँदैन । नीति तयार हुने, सुझाव लिने, आवश्यक संशोधन गर्ने, स्वीकृति प्राप्त गर्ने र त्यसपछि कार्यान्वयनमा जाने प्रक्रियाका कारण समय लाग्छ ।

त्यसैले अहिले सार्वजनिक भइरहेका सुधारका योजनाको प्रभाव मूल्यांकन गर्दा कार्यान्वयनको अवस्था र त्यसपछि बजारमा देखिने परिणामलाई आधार बनाउनुपर्ने उनको भनाइ छ ।

गुरागाईंले सरकार र नियामक निकायले पुँजी बजार सुधारका लागि प्रयास गरिरहेको भन्दै त्यसको परिणाम देखिन केही समय लाग्ने बताए । उनका अनुसार बजारका कमजोरी हटाउने, पारदर्शिता बढाउने, संस्थागत लगानीकर्ता भित्र्याउने र लगानीकर्ताको विश्वास पुनःस्थापित गर्ने काम एकैपटक पूरा हुँदैन ।

‘सरकार र नियामक निकायले सुधारका लागि प्रयास गरिरहेका छन् । अहिले आएका नीतिहरू कार्यान्वयनमा गएपछि त्यसको प्रभाव देखिन सक्छ । त्यसैले केही समय धैर्य गरेर हेर्नुपर्ने अवस्था छ,’ उनले भने ।

यसरी, पुँजी बजार सुधारका लागि हरेक साता नयाँ नीति तथा योजनाहरू सार्वजनिक भइरहे पनि त्यसको तत्कालीन प्रभाव नेप्सेमा देखिन सकेको छैन । अब सरकार तथा नियामक निकायले घोषणा गरेका सुधारहरू कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् र त्यसले लगानीकर्ताको विश्वास तथा बजारको मागमा कस्तो प्रभाव पार्छ भन्ने विषय आगामी दिनमा महत्त्वपूर्ण रहनेछ ।