सरकारमा देखिएको विवादले थप अन्योलमा सेयर बजार, लगानीकर्ता नाफाभन्दा पनि लगानीको सुरक्षाप्रति चिन्तित
काठमाडौं । सरकारको १०० दिन पुगेसँगै प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यवसायीहरूलाई छुट्टाछुट्टै भेट्ने र समस्या समाधान गर्ने पहल थाले । तर, अधिकांश भेटपछिको परिणाम पनि सेयर बजारमा सकारात्मक परेन । बरु निजी क्षेत्रका विभिन्न प्रतिनिधिहरूसँग भेट्दै गर्दा सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) भने घटेको देखिन्थ्यो ।
अझ पछिल्लो समय देशमा देखिएका विभिन्न किसिमका अवरोध, आन्दोलन र वस्तु अभाव (जस्तै ग्यास) ले बजारलाई तरंगित बनाइरह्यो । यी घटनाक्रमले सरकारमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नदेखिँदो गरी विद्रोहात्मक चेत पलाएको आभास मिलिरहेको छ ।
विगतमा सरकारलाई अन्धभक्त तरिकाले समर्थन गरेका केही सांसदहरू खुलेरै सरकारका विरुद्धमा खनिँदा लगानीकर्तामा भने थप अन्योल सिर्जना भएको छ । प्रतिनिधिसभामै सांसद रमेश प्रसाईंलगायतले सरकारविरुद्ध विषवमन नै गरे । रास्वपा महामन्त्री विपिनकुमार आचार्यले सार्वजनिक सञ्चारमाध्यममार्फत खुलेर विरोध गरे र एक सय दिनको काममा पासमार्कसमेत दिन सकिने स्थिति नरहेको बताए ।
स्थिर सरकार र जेनजी आन्दोलनबाट आएको बालेन नेतृत्वको सरकारले शान्ति सुरक्षा सँगै लगानीको वातावरण बनाउने अपेक्षाविपरीत काम भएको भन्दै सांसदहरूले चर्को विरोध गर्न थालेका छन् ।
संसदमा उपस्थित नहुने र सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन आफ्नै फेसबुक प्रयोग गरिरहेका प्रधानमन्त्री शाहले यसपटक पनि आफ्ना सांसदहरूलाई कटाक्ष गर्दै फेसबुकमा लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन ।’ यसबाट पनि देखिन्छ, सरकारमै रहेका दल र सरकारबीच विवाद छ।
प्रधानमन्त्री शाहलाई जवाफ दिँदै महामन्त्री आचार्यले रुपन्देहीको भैरहवामा आयोजित पार्टीको कार्यक्रममा भनेका छन्, ‘देश एक्लैले बन्दैन, २७५ जना सांसदले पनि बन्दैन । देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ ।’
सभापति रवि लामिछानेले समेत शनिबार एक कार्यक्रममा भने, ‘कहीँकतै सुनिन्छ, केही गडबड भयो कि, केही बिग्रियो कि, राजनीतिक रूपमा अप्ठेरो पर्यो कि, झगडा पो पर्यो कि भनेर र्युमरहरू आउँछन्, त्यो र्युमरहरूलाई आज विकेन्ड पनि हो, त्यो र्युमरहरूलाई आज स्न्याक्सको रूपमा ग्रहण गर्नुहोला ।’
विपक्षीहरूले मोर्चाबन्दी गरिरहेकै बेला सत्तारूढ दलका वरिष्ठ अधिकारीहरू र सांसदहरूले सरकारप्रति विषवमन गर्न थालेपछि लगानीकर्तामा एक प्रकारको नैराश्यता थपिएको छ । स्थिर सरकार भएका बेला देखिएको अतिरञ्जित घटनाक्रमले सेयर बजारलाई समेत प्रभावित बनाइरहेको छ । सूचीकृत कम्पनीहरूले सार्वजनिक गरेका गत आर्थिक वर्षको वित्तीय विवरणहरू सकारात्मक देखिए पनि त्यसको असर सेयर बजारमा परेको छैन ।
गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने क्रम सुरु भए पनि लगानीकर्ताले त्यसप्रति कुनै सकारात्मक सन्देश प्रवाहित गर्न सकेका छैनन् । शुक्रबार मात्रै कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
त्यस्तै, कुमारी क्यापिटलले कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाका इकाईधनीहरूलाई करसहित १० प्रतिशत र कुमारी सबल योजनाका इकाईधनीहरूलाई २.९० प्रतिशतका दरले नगद लाभांश दिने घोषणा गरेको छ । वित्तीय विवरण सार्वजनिक नभएका कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गर्ने र लाभांश घोषणा तयारीमा जुटेका छन् ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष धर्मराज सापकोटाका अनुसार बजारमा गिरावट जारी रहनुको मुख्य कारण लगानीकर्ताको विश्वास कमजोर हुनु हो । उनका अनुसार बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ, ब्याजदर न्यून स्तरमा छ र अधिकांश आर्थिक सूचक सकारात्मक छन् ।
यस्ता अवस्थामा सेयर बजारले सुधारको गति लिनुपर्ने भए पनि लगानीकर्ताले अझै विश्वास गर्न नसक्दा बजारले अपेक्षित प्रदर्शन गर्न सकेको छैन ।
“कोरोना महामारीजस्तो कठिन समयमा समेत सेयर बजारले उल्लेखनीय वृद्धि गरेको थियो । अहिले आर्थिक अवस्था तुलनात्मक रूपमा अनुकूल हुँदाहुँदै पनि बजार नबढ्नु विश्वास संकटको संकेत हो,” सापकोटाले भने । उनका अनुसार अहिले लगानीकर्ताहरू नाफाभन्दा पनि लगानीको सुरक्षाप्रति बढी चिन्तित छन् । सरकारले लगानी सुरक्षित हुने स्पष्ट सन्देश दिन सके मात्रै बजारमा विश्वास फर्किने उनको भनाइ छ । “लगानीकर्ता भनेको केही व्यक्ति मात्र होइनन्, लाखौं सर्वसाधारण हुन् । उनीहरूले आफ्नो पुँजी सुरक्षित छ भन्ने अनुभूति पाएपछि मात्रै बजारमा आत्मविश्वास फर्किन्छ,” उनले भने ।
गत साता पाँच कारोबार दिनमध्ये चार दिन नेप्से घट्दा एक दिन मात्र सामान्य अंकले बढेको थियो । साउन २० गते ४.७९ अंकले बढेको बजार अन्य दिन निरन्तर दबाबमा रहँदा साताभर नेप्से ४०.२२ अंकले घट्यो । गत साता नेप्सेसँगै कारोबार रकममा सुधार देखिएको छैन ।
सेयर बजार विश्लेषक केशव कोइरालाका अनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक भए पनि बजारमा ठूलो लगानी आउने वातावरण बनेको छैन । उनका अनुसार पछिल्लो समय सरकारले व्यवसायीहरूमाथि गरेको धरपकड र बजारसँग सम्बन्धित केही सम्भावित कारबाहीको त्रासका कारण ठूला लगानीकर्ता खुलेर बजारमा प्रवेश गर्न हिच्किचाइरहेका छन् ।
“कारबाहीमा परिन्छ कि भन्ने डरले धेरै ठूला लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा छन् । त्यसैले बजारमा माग कमजोर भएको छ र कारोबार रकम पनि निरन्तर घटिरहेको छ,” उनले भने ।
कोइरालाका अनुसार सरकारले लगानीकर्तालाई विश्वास दिलाउने कदम चाल्न सके छोटो अवधिमा बजारमा सुधार आउन सक्छ । तर, दीर्घकालीन सुधारका लागि संरचनात्मक परिवर्तन आवश्यक छ । कोइरालाका अनुसार पछिल्ला पाँचदेखि सात वर्षमा ठूलो मात्रामा आईपीओ निष्कासन हुँदा बजारमा सेयरको आपूर्ति अत्यधिक बढेको छ ।
तर, त्यसअनुसार नयाँ लगानीकर्ता र लगानी रकम विस्तार हुन नसक्दा बजारमा दबाब सिर्जना भएको छ । “बजारले धान्न नसक्ने गरी आपूर्ति बढेको छ । अहिलेको अवस्थामा नेप्सेलाई उच्च स्तरमा लैजान नीतिगत सुधार, आपूर्ति व्यवस्थापन र लगानीकर्ताको विश्वास पुनःस्थापना आवश्यक छ,” उनले भने ।
धितोपत्र बोर्डले बजार सुधारका लागि विभिन्न पहलहरू अघि बढाए पनि त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको छैन । बजारका कतिपय सहभागीहरू भने सरकारभित्र देखिएको असमझदारी र नीतिगत अन्योलताले सुधारका प्रयासहरू प्रभावकारी हुन नसकेको ठान्छन् ।
अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक, ब्याजदर न्यून र तरलता सहज हुँदाहुँदै पनि सेयर बजार दबाबमा रहनु लगानीकर्ताको मनोविज्ञानसँग प्रत्यक्ष जोडिएको देखिन्छ । विश्लेषकहरूका अनुसार अब बजारको दिशा आर्थिक सूचकभन्दा बढी सरकारको स्थिरता, नीतिगत स्पष्टता र लगानीकर्ताको विश्वासले निर्धारण गर्नेछ ।
