नाइमा मोबिलिटी एक्स्पो-२०२६ः यी हुन् प्रदर्शनीमा देख्न पाइने उत्कृष्ट दुईपाङ्ग्रे सवारीसाधन
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन २६ देखि ३१ गतेसम्म हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा दुईपाङ्ग्रे सवारीसाधनतर्फ नयाँ मोडलहरूको आकर्षक प्रदर्शन र लन्च हुने भएको छ । बजारमा आफ्नो उपस्थिति बलियो बनाउन तथा ग्राहकको ध्यान तान्न विभिन्न ब्रान्डले यस एक्स्पोलाई नयाँ उत्पादन सार्वजनिक गर्ने प्रमुख प्लेटफर्मका रूपमा प्रयोग गर्न लागेका हुन् ।
नाइमाका अनुसार बजाज, होण्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्यूजो, बगाउस, अल्ट्राभोइलेट, केरेन, गारो, सीएफ मोटो, ट्रायम्फ तथा जेएक्स मोटोरसीएक्स मोटरसाइकललगायत ब्रान्डले सहभागिता जनाउनेछन् । तीमध्ये केही ब्रान्डले नेपाली बजारका लागि नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।
अल्ट्राभोइलेट एक्स४७ र मोर्बिडेलीको नयाँ एड्भेन्चर बाइक
वैद्य अर्गनाइजेसनले प्रिमियम विद्युतीय मोटरसाइकल ‘अल्ट्राभोइलेट एक्स४७’ एक्स्पोमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ । अत्याधुनिक प्रविधि र उच्च प्रदर्शन क्षमता भएको यो मोटरसाइकल प्रिमियम ग्राहकलाई लक्षित गरेर ल्याउन लागिएको हो । साथै, कम्पनीले मोर्बिडेली ब्रान्डअन्तर्गत २५० सीसी क्षमताको नयाँ एड्भेन्चर मोटरसाइकल ‘टी २५० एक्स’ पनि सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार यो नेपाली बजारमा उपलब्ध सबैभन्दा किफायती एड्भेन्चर मोटरसाइकलमध्ये एक हुनेछ ।
रिभर इन्डीः प्रिमियम इलेक्ट्रिक स्कुटरको नयाँ विकल्प
विशाल इन्टरप्राइजेज नेपालले भारतको चर्चित विद्युतीय स्कुटर ‘रिभर इन्डी’ नेपाली बजारमा भित्र्याउने भएको छ । औपचारिक लन्चअघि नै काठमाडौंका विभिन्न सडकमा परीक्षण गरिएको यो स्कुटर नेपाली सडक तथा भौगोलिक अवस्थाअनुकूल रहेको कम्पनीको दाबी छ । ४ किलोवाट(आवर क्षमताको ब्याट्री जडान गरिएको रिभर इन्डीले एकपटकको पूर्ण चार्जमा आईडीसी मापदण्डअनुसार १६० किलोमिटरसम्म रेन्ज दिने बताइएको छ । ९० किलोमिटर प्रतिघण्टासम्मको गति, १७७ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५५ लिटर स्टोरेज क्षमता र ८ वर्षसम्मको वारेन्टी यसका प्रमुख विशेषता हुन् । नेपाली बजारका लागि यसको मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकिएको छ ।
हिरोको ‘भिडा’
हिरो मोटोकर्पको विद्युतीय ब्रान्ड ‘भिडा’ अन्तर्गतको स्कुटर पनि एक्स्पोमा रहनेछ । नेपालका लागि हिरोको आधिकारिक वितरक सीजी मोटर्सले विद्युतीय दुईपाङ्ग्रे बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिअन्तर्गत भिडा नेपाल ल्याइसकेको छ ।
टीभीएस आरटीएक्स ३००ः एड्भेन्चर सेग्मेन्टमा नयाँ प्रतिस्पर्धी
टीभीएसको पहिलो एड्भेन्चर मोटरसाइकल ‘आरटीएक्स ३००’ पनि नाइमा मोबिलिटी एक्स्पोमार्फत नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले लामो दूरीका यात्री र एड्भेन्चर राइडरलाई लक्षित गर्दै यो मोडल ल्याउन लागेको हो । शक्तिशाली इन्जिन, आकर्षक डिजाइन र आधुनिक इलेक्ट्रोनिक फिचरले सुसज्जित आरटीएक्स ३०० ले नेपाली एड्भेन्चर बाइक बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
यामाहा एक्सएसआर १५५ पनि चर्चामा
रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजन भएको यामाहा एक्सएसआर १५५ पनि नेपाली बजारमा लन्च हुने सम्भावना रहेको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडले यो मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा विशेषगरी विद्युतीय स्कुटर र एड्भेन्चर मोटरसाइकलको दबदबा रहने देखिएको छ । नयाँ प्रविधि, आकर्षक डिजाइन र विविध विकल्पका कारण यस वर्षको एक्स्पो दुईपाङ्ग्रे पारखीका लागि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
