संकुचित बजारमा समेत २ हजारमाथि मूल्य भएका १० कम्पनी, ‘अलटाइम हाइ’बाट कति तल छन्?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) माथिल्लो बिन्दुमा चढ्न नसक्दा अधिकांश कम्पनीको सेयर मूल्य अंकित मूल्य नजिक छ । सेयर बजारमा धेरै हिस्सा ओगटेका तथा कुनै समय अधिक आकर्षणमा पर्ने गरेका बैंक, विकास बैंक, बिमा कम्पनी, जलविद्युत क्षेत्रका कम्पनीको सेयर मूल्य हाल न्यनू बिन्दुमा छ ।
तुलनात्मक रुपमा हेर्दा सेयर बजार नै सुस्त अवस्थामा छ। यस्तो अवस्थामा करिब एक दर्जन कम्पनीको सेयर मूल्य मात्रै २००० रुपैयाँ प्रतिकित्ताभन्दा माथि रहेको देखिन्छ। २ हजार बढी सेयर मूल्य हुने कम्पनी लघुवित्त, उत्पादनमूलक क्षेत्रलगायतका छन् । लामो समयदेखि आफ्नो वित्तीय विवरण सार्वजनिक नगरेका तथा वार्षिक साधारणसभा पनि गर्न नसकेका केही कम्पनीको सेयर मूल्यसमेत २००० रुपैयाँ भन्दा माथि छ ।
उच्च प्रतिफल दिनसक्ने, सर्वसाधारणको सेयर हिस्सा कम भएका, पुँजी र वित्तीय सूचक बलियो अवस्थामा रहेका कम्पनीको सेयर मूल्य महँगोमा किन्न खोज्दा पनि सहजै पाइने अवस्था छैन ।
यद्यपि, नेप्सेमा सूचिकृत करिब ३०० कम्पनीमा एक दर्जन कम्पनीको सेयर मूल्य मात्रै २ हजार माथि हुनुले पनि पुँजी बजार सुस्त अवस्थामा रहेको पुष्टि हुन्छ । किनभने, बजार चलयमान भएको समयमा यो भन्दा धेरै कम्पनीको सेयर मूल्य दुई हजार भन्दा माथि हुने गरेको उदाहरण छन्।
पछिल्लो केही समयदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर दबाबमा छ । बजारमा उतारचढाव र बिक्री दबाब बढिरहेका कारण अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । तर, समग्र बजार कमजोर देखिए पनि केही सीमित कम्पनीले भने अझै पनि आफ्नो उच्च मूल्य कायम राख्न सफल भएका छन् । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीको सेयर मूल्य २ सयदेखि ५ सय रुपैयाँको दायरामा कारोबार भइरहेका बेला केही कम्पनीको मूल्य भने अझै २ हजार रुपैयाँभन्दा माथि रहेको छ ।
हाल बजारमा सबैभन्दा कम मूल्यमा कारोबार हुने कम्पनीमध्ये बलेफी हाइड्रोपावर, कुमारी बैंक लिमिटेड, हिमाल दोलखा जलविद्युत कम्पनी, लिबर्टी इनर्जी लगायत रहेका छन् । यी कम्पनीको सेयर मूल्य करिब २ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । यसले नेप्सेमा सूचीकृत कम्पनीबीच मूल्यको ठूलो अन्तर रहेको देखाउँछ ।
यता, बजारमा सबैभन्दा महँगो सेयर भने युनिलिभर नेपाल लिमिटेडको रहेको छ । आजको बजारमा उक्त कम्पनीको सेयरको मूल्य ४६ हजार ७०० रुपैयाँ पुगेको छ । यो मूल्य अन्य अधिकांश कम्पनीको तुलनामा निकै धेरै हो । कम्पनीको बलियो वित्तीय अवस्था, नियमित लाभांश वितरण, सीमित सेयर आपूर्ति तथा लगानीकर्ताको उच्च विश्वासका कारण यसको मूल्य लामो समयदेखि उच्च स्तरमै कायम रहँदै आएको छ ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । उक्त कम्पनीको सेयर मूल्य हाल १४ हजार ६४५ रुपैयाँ रहेको छ । त्यस्तै बोटलर्स नेपाल (तराई) लिमिटेडको सेयर मूल्य ११ हजार ७४० रुपैयाँ पुगेको छ ।
त्यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५ हजार ८९४ रुपैयाँ रहेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सेयर ५ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ । साल्ट ट्रेडिङ लामो समयदेखि स्थिर व्यवसाय र सीमित सेयर संख्याका कारण उच्च मूल्यमा कारोबार हुने कम्पनीमध्ये एक मानिन्छ ।
उच्च मूल्य भएका कम्पनीको सूचीमा विशाल बजार कम्पनी लिमिटेड पनि रहेको छ। यसको सेयर मूल्य हाल ४ हजार २६० रुपैयाँ रहेको छ । त्यस्तै रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्य ३ हजार २४८ रुपैयाँ कायम छ। उद्योग क्षेत्रका सीमित कम्पनीमध्ये रिलायन्स स्पिनिङ पनि उच्च मूल्यमा कारोबार हुने कम्पनीका रूपमा परिचित छ ।
त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य २ हजार ७९० रुपैयाँ, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २ हजार २०१ रुपैयाँ तथा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य २ हजार १६५ रुपैयाँ रहेको छ। यी कम्पनीहरू पनि हाल २ हजार रुपैयाँभन्दा माथि मूल्य कायम राख्न सफल भएका छन् ।
सेयरको मूल्य उच्च हुनु मात्र कम्पनी राम्रो वा लगानीका लागि उपयुक्त हुनुको आधार होइन । कम्पनीको चुक्ता पुँजी, बजारमा उपलब्ध सेयर संख्या, प्रति सेयर आम्दानी, नाफा, लाभांश इतिहास, भविष्यको व्यावसायिक सम्भावना तथा लगानीकर्ताको मागजस्ता विभिन्न पक्षले सेयर मूल्य निर्धारण गर्छन् ।
अहिले २ हजार रुपैयाँभन्दा माथि कारोबार भइरहेका अधिकांश कम्पनीले आफ्नो अल–टाइम हाई (सर्वाधिक मूल्य) भने केही वर्षअघि नै बनाएका थिए । तथ्याङ्कअनुसार युनिलिभर नेपाल ले २०८१ साउन ६ गते ५६ हजार ५ सय रुपैयाँ को उच्चतम मूल्य छोएको थियो, जुन हालको मूल्यभन्दा करिब ९ हजार ७ सय रुपैयाँ बढी हो ।
त्यसैगरी बोटलर्स नेपाल (तराई) ले २०८० पुस २ गते १७ हजार ६७० रुपैयाँ, राष्ट्रिय बीमा कम्पनी ले २०७८ जेठ २३ गते २४ हजार ३७० रुपैयाँ तथा साल्ट ट्रेडिङ कर्पोरेशन ले २०७८ जेठ १६ गते १२ हजार २२० रुपैयाँ को ऐतिहासिक उच्च मूल्य कायम गरेका थिए ।
अधिकांश कम्पनी हाल पनि प्रिमियम मूल्यमा कारोबार भइरहे पनि उनीहरूको हालको मूल्य विगतको उच्चतम स्तरभन्दा तल झरेको देखिन्छ । यसले बजारमा आएको दीर्घकालीन करेक्सन स्पष्ट देखाउँछ ।
उच्च गुणस्तरका कम्पनीसमेत आफ्नो ऐतिहासिक उच्च मूल्यबाट उल्लेख्य रूपमा तल झरेका छन् । यद्यपि बजारमा निरन्तर दबाब रहे पनि यी कम्पनीले २ हजार रुपैयाँभन्दा माथिको मूल्य कायम राख्नुले लगानीकर्ताको विश्वास र कम्पनीहरूको आधारभूत वित्तीय अवस्थालाई संकेत गर्दछ ।