बचत र लगानीशैलीलाई नै परिवर्तन गर्ने एसआईपीः किन र कसरी गर्ने? कस्ता छन् फाइदा?
काठमाडौं । नेपालको पुँजी बजारमा खुलामुखी म्युचुअल फण्डहरूको विस्तारसँगै सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) आयोजनाहरु थपिनेक्रम पनि बढ्दो छ । छोटो समयमा नै नेपालमा ओपन इन्डेड म्युचुअल फण्डको सञ्चालन सबैजसो क्यापिटलले अपनाउँदा हालसम्म १३ वटा एसआईपी योजना सञ्चालनमा आइसकेका छन् ।
एसआईपी कुनै लगानी उपकरण नभई लगानी विधि मात्रै हो । एसआईपी भनेको म्युचुअल फन्डमा लगानी गर्ने एउटा प्रणालीगत (नियमित) तरिका हो । यो बैंकहरुले ल्याउने ‘रिकरिङ निक्षेप’ को स्किम जस्तै हो । एसआईपीमा पूर्वनिर्धारत रकम बजारमा नियमित अन्तराल (सामान्यतया हरेक महिना) लगानी गरिन्छ ।
सेयर बजारमा लगानी गर्न चाहने तथा बजारको जोखिम विश्लेषण गर्न नसक्ने साना लगानीकर्ताका लागि सेयर तथा म्युचुअल फन्डमा लगानी गर्न एसआईपी एउटा उपयुक्त उपाय हुन सक्छ ।
एसआईपी अर्थात् सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भैपरी आउने समस्याको समाधान हो । यसमा बचत र लगानी दुवै हुन्छ । यसमा एउटा निश्चित समयमा पैसा लगानी गरिन्छ । र, भविष्यमा यस्को प्रतिफल आर्जन गरिन्छ । एसआईपीमा १ महिना, ३ महिना, ६ महिना वा १ वर्षमा आफ्नो निश्चित समय निर्धारण गरी लगानी गरिन्छ । न्यूनतम ५ वर्षदेखि अनिश्चित समयका लागि यसमा लगानी गर्न सकिन्छ ।
आज एसआईपीमा गरेको हजारको लगानी भोलि लाखौं हुनसक्छ । त्यसैले एसआईपीमा पैसा बचत गर्नु साना लगानीकर्ताका लागि उपयोगी छ भन्दा त्यति फरक नपर्ला ।
यदि तपाईंले कुनै एसआईपी लगानी योजनामा वार्षिक १० हजार रुपैयाँ लगानी गर्नु भएको छ र प्रत्येक वर्ष १५ प्रतिशत प्रतिफल अथवा लाभांश पाउनु हुन्छ भने १० हजारको १५ प्रतिशत १५०० रूपैयाँ भए जस्तै तपाईंले जति लगानी गर्नुभएको छ त्यही अनुसार प्रतिफल बढ्छ । यो प्रतिफल अथवा लाभांश पनि लगानीकै रूपमा राखिराख्दा अर्को वर्ष आफ्नो लगानी १० हजारको मात्र हुँदैन, पहिलो वर्ष कमाएको प्रतिफल अर्थात् लाभांशलाई मूल लगानीमा जोड्दा ११ हजार ५ सय रूपैयाँ हुन्छ । यसरी नै प्रत्येक वर्ष लगानीससँगै प्रतफिल पनि त्यसमा पुन लगानी हुँदै जान्छ । एसआईपीमा निश्चित समय निर्धारण गरी गरेको लगानी अनुसार प्रतिफल पाइने छ ।
लगानी अनुसारको राम्रो प्रतिफल दिने स्रोत बनेको एसआईपीमा लगानी गर्नका लागि उमेरको पनि कुनै सीमा छैन । जुनसुकै उमेर समूहकाले पनि यसमा लगानी गर्न सकिन्छ ।
हालसम्मका योजना
सन् २०२३ सम्ममा नेपालमा एनआईबिएलको सहभागिता फण्ड, एनआईसी एशियाको डायनामिक डेप्ट फण्ड, सिद्धार्थ क्यापिटलको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, एनएमबी क्यापिटलको एनएमबि सरल बचत फण्ड–ई, लक्ष्मी क्यापिटलको शुभ लक्ष्मी कोष, नबिलको नबिल फ्लेक्सी क्याप फण्ड र कुमारी सुनौलो लगानी योजना गरी कुल सात एसआईपी योजना सञ्चालनमा थिए ।
तर, सन् २०२४ मा कुनै पनि एसआईपी योजना सञ्चालनमा आएनन् । यद्यपि, त्यसयता भने थप ६ वटा एसआईपी फन्ड सञ्चालमा आइसकेका छन् । जसमा, सानिमा क्यापिटलको सानिमा फ्लेक्सी फण्ड, प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम, सिटिजन क्यापिटलको सिटिजन सदाबहार योजना, नबिल इन्भेस्टमेन्टको एनआई–३१, एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम र माछापुच्छ्रे क्यापिटलको माछापुच्छ्रे एसआईपी योजना छन् ।
खासगरी, एसआईपीका लागि उपयुक्त म्युचुअल फन्ड छनोट गर्दा इक्विटी, डेप्ट र हाइब्रिड फन्डबारे बुझ्नुपर्ने हुन्छ । इक्विटी फन्डमा जोखिम र प्रतिफल दुवै उच्च हुने, डेप्ट फन्डमा जोखिम कम र स्थिर आम्दानी हुने तथा हाइब्रिड फन्डमा दुबैको मिश्रण रहने किसिमको अवस्था हुन्छ ।
उमेर र जोखिम वहन क्षमताअनुसार फन्ड छनोट गर्नुपर्नेमा युवाहरूले इक्विटी फन्ड रोज्दा उपयुक्त हुने र उमेर बढ्दै जाँदा डेप्ट वा हाइब्रिड फन्डमा ध्यान दिँदा उचित हुने विषय उठ्दै आएको छ ।
यसका अलावा, फन्ड छनोट गर्दा एसेट एलोकेसन, नेट एसेट भ्यालु ९एनएभी०, एक्सपेन्स रेसियो, कम्पाउन्ड एनुअल ग्रोथ रेट, डिभिडेन्ड इतिहास र फन्ड साइजजस्ता सूचकहरू विश्लेषण गर्नुपर्ने हुन्छ । विशेषगरी एनएभीको दीर्घकालीन वृद्धि, कम एक्सपेन्स रेसियो र राम्रो डिभिडेन्ड इतिहास भएका फन्डहरूलाई प्राथमिकता दिनुपर्ने बताइन्छ ।
साथै, ठूलो फन्ड साइजले लगानीकर्ताको विश्वास र लिक्विडिटी देखाए पनि त्यसैले मात्र फन्ड राम्रो हुन्छ भन्ने सुनिश्चित नहुन पनि सक्छ । नेपाली बजारमा इक्विटी ओरेन्टेड फण्ड र डेप्ट ओरेन्टेड फण्ड गरी दुई प्रकारका एसआईपी सञ्चालमा छन् । नेपालमा सञ्चालित मध्ये एनआईसी एशियाको डायनामिक डेप्ट फण्ड मात्रै एउटा डेप्ट ओरेन्टेड एसआईपी फन्ड हो । अन्य सबै भने इक्विटी ओरेन्टेड फण्ड नै रहेका छन् ।
इक्विटी ओरेन्टेड फण्डहरूले आफ्नो लगानीको ठूलो हिस्सा सेयर बजार ९स्टक मार्केट० मा परिचालन गर्छन् । जब सेयर बजार सकारात्मक दिशामा रहन्छ, यस्ता फण्डहरूले उल्लेख्य नाफा आर्जन गरी इकाइधनीहरूलाई आकर्षक लाभांश वितरण गर्छन् ।
यद्यपि, नेप्से परिसूचक ओरालो लाग्दा यस्ता फण्डहरूको कार्यसम्पादन पनि कमजोर हुन सक्छ । जोखिम र प्रतिफल दुवै उच्च हुने भएकाले बुल मार्केटको समयमा यी फण्डहरूबाट उच्च प्रतिफलको अपेक्षा गर्न सकिन्छ । तर, यस्ता फण्डहरूमा लाभांश दर भने नियमित नहुन सक्छ ।
डेप्ट ओरेन्टेड फण्डहरु भने जोखिम कम लिन चाहने लगानीकर्ताका लागि उपयुक्त मानिन्छ । यस्ता फण्डहरूले आफ्नो लगानीको मुख्य हिस्सा ऋणपत्र (बण्ड र डिबेन्चर) तथा मुद्दती निक्षेप जस्ता स्थिर आय हुने क्षेत्रमा परिचालन गर्छन् । यस्ता फण्डहरूको प्रतिफल तुलनात्मक रूपमा स्थिर र अनुमान योग्य हुन्छ ।
समग्रतामा हेर्दा सेयर बजारको उतारचढावलाई झेल्न सक्ने र दीर्घकालीन रूपमा उच्च प्रतिफलको खोजीमा रहेका लगानीकर्ताका लागि इक्विटी फण्ड उपयुक्त हुन सक्छ । तर, जो लगानीकर्ता आफ्नो लगानी सुरक्षित राख्दै नियमित र स्थिर आम्दानी चाहन्छन्, उनीहरूका लागि डेप्ट फण्ड बढी उचित हुन सक्दछ ।
म्युचुअल फन्ड र प्रकार
सामान्य भाषामा भन्नुपर्दा एसआईपी गर्ने भनेको सामूहिक लगानी योजना (म्युचुअल फन्ड)मा लगानी गर्नु हो । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर (क्यापिटल)लाई म्युचुअल फन्डको योजना व्यवस्थापकको इजाजत दिएको हुन्छ । म्युचुअल फन्डले केही आफ्नो लगानी र केही कोष प्रबर्द्धको रुपमा पनि लगानी जुटाउँछन् भने बाँकी लगानी सर्वसाधारणलाई इकाइ निष्काशन मार्फत जुटाउँछन् ।
म्युचुअल फन्डको योजना व्यवस्थापकले लगानीकर्ताको रकम संकलन गर्न संकलन गरिने रकम के–कस्तो धितोपत्र औजारमा लगानी गर्ने, कुन क्षेत्रमा लगानी गर्ने, लगानी गर्दाको जोखिम के कस्तो हुन्छ, आदि जस्ता विवरणहरु समावेश गरी तयार गरेको कार्यक्रमको खाकालाई योजना भनिन्छ । यस्तो योजना सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्छ । म्युचुअल फन्डमा गरिने लगानीलाई साधारण सेयरमा गरिने लगानी भन्दा सुरक्षित मानिन्छ ।
म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने योजनाहरु बन्दमुखी योजना र खुलामुखी योजना गरी दुई प्रकारका हुन्छन् । योजनाले गर्ने लगानीको क्षेत्र, लगानी जोखिम, यसको लक्षित प्रतिफल आदिका आधारमा यी योजनालाई अन्य विभिन्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।
योजनाबाट संकलन गरिने रकमको मात्रा तथा समय सीमा नतोकी कुनै पनि समयमा लगानीकर्तालाई इकाइ बिक्री गर्न सकिने गरी जारी गरिने सामूहिक लगानी योजनालाई खुलामुखी योजना भनिन्छ । यस प्रकारको योजनामा योजना व्यवस्थापकले जति पनि संख्यामा योजना इकाईहरु बिक्री गर्न सक्छन् र लगानीकर्ताले इकाई बिक्री गर्न आएको खण्डमा पुनः खरिद पनि गरिदिन सक्छ । यस प्रकारको योजनामा तरलता बढी हुन्छ । खुलामुखी योजना धितोपत्र बजारमा सूचीकृत नहुने भएकोले दोस्रो बजारमा कारोबार हुँदैन ।
कुनै निश्चित रकम र अवधि तोकी लगानीकर्तालाई इकाईहरु बिक्री गरिने सामूहिक लगानी योजनालाई बन्दमुखी योजना भनिन्छ । यस प्रकारको योजनामा एकपटक इकाई जारी गरेपश्चात तोकिएको समयावधिभर सो योजना अन्तर्गत थप इकाइहरु जारी गरिँदैन र तोकिएको समयावधि भुक्तान भएपछि लगानीकर्तालाई रकम फिर्ता गरिन्छ । बन्दमूखी योजना नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुन्छ ।
खुलामुखी योजनामा लगानी गर्ने एउटा विधि नै एसआईपी हो । एसआईपी पुँजी बजारसँग निर्भर हुन्छ । जहाँ स–साना लगानीकर्ताहरुको संकलित कोष आफ्नो इच्छा अनुसारको नियमित रुपमा स(सानो लगानी गर्दै जान सकिन्छ । नेपालमा हालसम्म ४० भन्दा बढी म्युचल फन्ड सञ्चालनमा भए पनि खुलामुखी म्युचुअल फन्डको संख्या भने सीमित मात्रै छ ।
एसआईपीमा लगानी कसरी गर्ने ?
एसआईपी योजनामा लगानी गर्न विभिन्न मर्चेन्ट बैंकर ९क्यापिटल०को वेबसाइटमा गई एसआईपी रजिष्टर गर्नुपर्ने हुन्छ । त्यहाँ आफूलाई अनुकूल पर्ने एसआईपी योजना खरिद गर्न सकिन्छ । त्यसपछि आफूले गर्ने लगानी अनुसारको म्युचुअल फन्ड छनोट गर्नुपर्ने हुन्छ । जहाँ लामो समय लगानी गर्न मिल्ने र छोटो समयमका लागि पनि लगानी गर्न मिल्ने फन्ड हुन्छन् । तीमध्ये एकलाई छनोट गर्नुपर्ने हुन्छ । लगानी रकम र अवधि निर्धारण गरी मासिक, त्रैमासिक वा अन्य निश्चित समयमा कति रकम लगानी गर्ने भनेर निर्णय गरेर राख्नु पर्छ ।
यसको समयवाधिमा ५ देखि १० वा २० वर्ष वा आफ्नो आवश्यकता अनुसार योजना बनाउन सकिन्छ । यसबाहेक समयावधि अनिश्चित गरि ‘अनलिमिटेड’ पनि राख्न सकिन्छ । एसआईपीका लागि डिम्याट र मेरो सेयरमा खाता भने अनिवार्य खोलिसकेको हुनुपर्छ ।
यसरी आफूले रोजेको म्युचुअल फन्डको योजना व्यवस्थापक कम्पनीको वेबसाईटमा गई त्यहाँ दिए अनुसारको प्रक्रिया पूरा गरि एसआईपीमा सहभागी हुन सकिन्छ ।
एसआईपीको फारम भर्दा बैंक खाता पनि लिंक गर्नु पर्दछ । लिंक गरिएको बैंक खातामार्फत आफूले इच्छाएर राखेको रकम समय अनुसार नियमित रूपमा काटिन्छ । यसमा सामान्यतः मासिक १ हजार देखि लगानी गर्न सकिन्छ । यसरी लगानी गरेको रकम समयसँगै कम्पाउन्डिङको नियमअनुसार बढ्दै जान्छ ।
एसआईपीका केही नकारात्मक पक्ष पनि छन् । जसका बारेमा हामीले जानी राख्न आवश्यक छ । एसआईपी बजारको उतार–चढावमा निर्भर हुन्छ । तर, एसआईपीमा लगानी गर्ने लगानीकर्ताहरू प्रायः बजारको व्यापक अध्ययन गर्दैनन् । यो एक ठूलो गल्ती हुन सक्छ ।
सेयर बजारमा गिरावट आउँदा लगानीको मूल्य घट्न सक्छ, जसले गर्दा नोक्सान हुने सम्भावना रहन्छ। एसआईपी विशेष गरी ती लगानीकर्ताका लागि चुनौतीपूर्ण हुन्छ जो बजारको उतार–चढावको सामना गर्न तयार हुँदैनन् । त्यसैले बजारको बारेमा बुझी राख्यो भने लगानीकर्तालाई बजारको सही अवस्था र भविष्यको सम्भावना बुझ्न मद्दत गर्छ । बजारको अध्ययन नगर्दा गलत निर्णयहरू लिन सकिन्छ ।
त्यस्तै एसआईपीमा लगानी गर्दा प्रतिफलको ग्यारेन्टी नहुन सक्छ । बजारको पर्फर्मेनस अनुसार नै प्रतिफल मिल्छ, जसले गर्दा कहिलेकाहीँ अपेक्षित लाभ प्राप्त नहुन सक्छ । यो अनिश्चितताले नयाँ लगानीकर्ताहरूका लागि समस्या उत्पन्न गर्न सक्छ ।
एसआईपीमा विभिन्न प्रकारका शुल्क र लागत लाग्छ । जस्तै व्यवस्थापन शुल्क, प्रवेश शुल्क, निकासी शुल्क आदि । यी अतिरिक्त लागतहरूले कुल प्रतिफलमा कमी ल्याउन सक्छ । लगानीकर्ताले यी शुल्कको बारेमा पूर्ण जानकारी राख्न जरुरी छ ।
एसआईपीमा लामो समयसम्म नियमित लगानीको प्रतिबद्धता चाहिन्छ । यदी कुनै कारणवश यो प्रतिबद्धता निभाउन सकिँदैन भने लगानीको योजना असफल हुन सक्छ । विशेष गरी ती व्यक्तिहरूका लागि चुनौतीपूर्ण हुन सक्छ जो लामो समयसम्म नियमित रुपमा लगानी गर्न सक्दैनन् ।
त्यस्तै धेरै लगानीकर्ताहरू एसआईपीमा सबै पैसा लगानी गर्छन् र आपतकालीन फन्ड राख्न बिर्सन्छन् । यसले आपतकालमा समस्या उत्पन्न गर्न सक्छ । आर्थिक संकटको समयमा तरलता अभावले अन्य समस्याहरू निम्त्याउन सक्छ । एसआईपीमा लगानी गर्दा ब्याज दरमा आउने परिवर्तनले पनि प्रभाव पार्न सक्छ । ब्याजदर घट्दा प्रतिफलमा कमी आउन सक्छ । यसले लगानीकर्तालाई वित्तीय लक्ष्य प्राप्त गर्न कठिनाइ उत्पन्न गर्छ ।