सेयर बजार निरन्तर ओरालो, सूचक ६.३१ अंक घट्दा ४ अर्ब ४ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ६.३१ अंक घटेर २७०५.४५ विन्दुमा झरेको छ । सोमबार ४ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

मंगलबार नेप्से परिसूचक ६.३१ अंक घटेर २७०५.४५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अंक घटेको छ । १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । त्यस्तै म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो । आज घटेका उपसमूहहरुको गिरावटदर ०.५ प्रतिशतभन्दा कम रहेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । सोमबार ४ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।  

आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज पनि सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, दोल्ती पावर कम्पनीको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । आज मूल्य घटेका स्टकहरुको गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ९९ लाख ४५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको १८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । मंगलबार कारोबारमा आएकामध्ये ८० कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको घटेको छ । यस्तै, १५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।