निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, सूचक १२.२६ अंकले घट्दा ४ अर्ब ४१ करोड रुपैयाँको कारोबार
सोमबार नेप्से परिसूचक १२.२६ अंक घटेर २७११.७६ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ४ अर्ब ३४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ४ अर्ब ४१ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
सोमबार नेप्से परिसूचक १२.२६ अंक घटेर २७११.७६ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन व्यापार र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ४ अर्ब ३४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ४ अर्ब ४१ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ७.९४ प्रतिशतले ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ८५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, १०।२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को २७ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र किनबेच भएको छ ।सोमबार कारोबारमा आएकामध्ये ७३ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।