नेपालकै पहिलो वाइन उद्योग मकालु वाइनको आईपीओ आउँदै

कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर १० लाख कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो ।

काठमाडौं । नेपालको पहिलो वाइन उद्योगका रूपमा परिचित मकालु वाइन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर १० लाख कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका सेयर निष्काशन गर्न लागेको जनाएको छ । आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

यस सम्बन्धी सम्झौतापत्रमा मकालु वाइन इन्डस्ट्रिजका अध्यक्ष पिताम्बर पोख्रेल तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

वि.सं. २०५२ सालमा संखुवासभाको धर्मदेवी नगरपालिका-३ मा स्थापना भएको मकालु वाइन इन्डस्ट्रिजले विगत ३१ वर्षदेखि स्थानीय स्रोतसाधनमा आधारित अर्गानिक वाइन उत्पादन गर्दै आएको छ । कम्पनीले समुद्री सतहबाट करिब २८०० मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा हिमाली क्षेत्रमा पाइने चुत्रो र ऐंसेलु प्रयोग गरी ‘हिंवा वाइन’ उत्पादन गर्दै आएको जनाएको छ ।

कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ भने आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादन क्षमता विस्तार गरिरहेको छ । हाल कम्पनीमा देवश्री भेन्चर, हारभेस्ट भेन्चर, बिर्तामोड सञ्जीवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्टलगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ ।

मकालु वाइनले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ । कम्पनीका अनुसार उत्पादन विविधीकरण र बजार विस्तारलाई प्राथमिकतामा राख्दै नयाँ लगानी योजना अघि बढाइएको हो ।