चुनावी माहोलसँगै सेयर बजारमा चमक, नेप्सेले साढे ४ महिनाकै उच्च विन्दु समाउँदा करीव १२ अर्बको कारोबार
कारोबार रकम पनि ९५ कारोबार दिनकै उच्च
भदौ २३ र २४ विध्वंसात्मक जेनजी आन्दोलनपछि केही दिन सेयर बजारसमेत बन्द भएको थियो । त्यसपछि खुलेको बजार पनि निरन्तर घटेको थियो । तर, पछिल्लो समय चुनावी माहोल बन्दै गएसँगै सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिन थालेको छ ।
काठमाडौं । चुनावी माहोलसँगै सेयर बजारले पनि लय समातेको छ । मंगलबार देशभर प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेद्वारी मनोनयन भईंरहँदा सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले बढेको छ । मंगलबार नेप्से सूचक ४२.२६ अंकले बढेर २७१४.८१ अंकमा पुगेको छ । जुन साढे ४ महिनापछिकै उच्च विन्दु हो । यसअघि जेनजी आन्दोलनको अघिल्लो दिन भदौ २२ गते नेप्से सूचक २७०८.२५ अंकमा थियो ।
भदौ २३ र २४ विध्वंसात्मक जेनजी आन्दोलनपछि केही दिन सेयर बजारसमेत बन्द भएको थियो । त्यसपछि खुलेको बजार पनि निरन्तर घटेको थियो । तर, पछिल्लो समय चुनावी माहोल बन्दै गएसँगै सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिन थालेको छ । सोमबार सार्वजनिक विदाले गर्दा सेयर बजार पनि बन्द भएको थियो । तर, आइतबार पनि नेप्सेमा ३१ अंकको बृद्धि भएको थियो । त्यसअघि पनि दुई दिन सेयर बजारमा सामान्य सुधार देखिएको थियो ।
मंगलबार कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । यसदिन ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । गत आइतबार ८ अर्ब ३५ करोड रुपैयाँको सेयर खरिद विक्री भएको थियो । मंगलबारको कारोबार रकम साढे ५ महिना अर्थात ९५ कारोबार दिनको उच्च हो । यसअघि साउन १८ गते १२ अर्ब ८४ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । जति नेप्से सूचक २८५८ विन्दुमा थियो । त्यसेपछि कारोबार रकम पनि निरन्तर खस्कँदै गएको थियो । तर, पछिल्लो दिनहरु कारोबार रकम पनि क्रमसः सुधार हुँदै आइरहेको छ ।
आइतबारको तुलनामा मंगलबार २२४ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको मूल्यमा गिरावट देखिएको छ भने ५ वटा कम्पनी मूल्य स्थिर छ । बढेको बजारमा गोर्खाज फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसपछि मूल्य बढ्ने कम्पनी आँखु खोला जलविद्युतको ८.१३ प्रतिशतले बढेको छ । उता, मंगलबार सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेनेन्ट देखिएको छ । एनआरएनको मंगलबार ४० करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।