नेशनल लाईफ इन्स्योरेन्सको ३८ औं वार्षिक साधारणसभा सम्पन्न

समिक्षा वर्ष १,४९८.५९ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा ९,४५८.७७ करोड रुपैयाँ पुगेको छ ।

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३८ औं वार्षिक साधारणसभा पुष ३० गते सम्पन्न भएको छ । कम्पनीको अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक वर्ष २०८१/८२ मा विविध चुनौतिको वावजुद कम्पनीको ब्यवसाय सन्तोषनजनक रहेको बताईन् । कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले बृद्धि भई २,२५९.३७ करोड रुपैयाँ पुगेको छ । समिक्षा वर्ष १,४९८.५९ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा ९,४५८.७७ करोड रुपैयाँ पुगेको छ ।

यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दावी, सर्मपण मूल्य, दावी एंव अन्य दावी भुक्तानीमा रु. ९४८.६५ करोड दावी भुक्तानी गरेको छ । कम्पनीको कूल लगानी समिक्षा वर्षमा ११.०४ प्रतिशतले बृद्धि भई वर्षान्तमा ७,७९०.२० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०८१/८२ मा ८.७६ प्रतिशत कायम छ ।

कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आ.व.२०८२/८३ मा हिमालयन बैंकको २,८०,१२,४४७.४५ कित्ता संस्थापक सेयर र ३,३३,०१,१९,७५२/८५ रुपैयाँमा खरीद गरेको र उक्त बैंकमा कम्पनीको सेयर स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुगेको छ ।

यसै गरी कम्पनीले मर्चेण्ट बैंकरको रुपमा प्रवर्धन गरेको सहायक कम्पनी नेशनल क्यापिटलले आवश्यक ईजाजतपत्र प्राप्त गरी संचालनमा आएको छ र आ.व.२०८१/८२ को लागि पहिलो पल्ट ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।