कांग्रेसका सुनिल थापा राष्ट्रियसभामा निर्विरोध निर्वाचित
राष्ट्रीयसभा सदस्य निर्वाचित थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । राप्रपाबाट राजनीति गरेका थापा राप्रपाको राजनीति कमजोर भएपछि कांग्रेसमा प्रवेश गरेका थिए । यसअघि थापा राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार थिए ।
काठमाडौ । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रीयसभा सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट अन्य समूहमा थापाको एकल उम्मेदवारी परेको थियो । नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै आउन नसकेका कारण थापा निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आइतबार थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको छ । अन्य समूह तर्फ रिक्त एक सदस्य पदका लागि थापाको मात्र उम्मेदवारी कायम भएपछि निर्विरोध घोषणा गरिएको सूचनामा भनिएको छ,‘एक जना मात्र उम्मेदवार कायम हुन आएकाले देहायका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु ।’
निर्वाचित थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । राप्रपाबाट राजनीति गरेका थापा राप्रपाको राजनीति कमजोर भएपछि कांग्रेसमा प्रवेश गरेका थिए । राष्ट्रीयसभा सदस्यका लागि कांग्रेसबाट सिफारिस भएसँगै थापाले राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए ।
कोशीमा महिला तर्फ कांग्रेस एमाले गठबन्धनबाट रोशनी मेचे र नेकपाबाट नमिता न्यौपाने उम्मेदवार छिन् । दलित तर्फ कांग्रेस एमाले गठबन्धनबाट सोम पोर्तेल र नेकपाबाट दलिततर्फ खेमराज सुन्दास उम्मेदवार छन् । फागुन २० गते राष्ट्रीयसभाका १९ जना सदस्यको पदावधि सकिँदैछ । त्यसमध्य १८ जना ६ वर्षका लागि माघ ११ गते निर्वाचित हुनेछन् भने १ जनालाईलाई सरकारले मनोनयन गर्नेछ ।