नेवार संस्कृति संरक्षणका उपलब्धिलाई संस्थागत गर्नुपर्छ: मन्त्री श्रेष्ठ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेवार समुदायले लामो संघर्षबाट प्राप्त गरेका उपलब्धिलाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।
मंगलबार वसन्तपुरमा नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संस्कृति संरक्षणका लागि अग्रज पुस्ताले गरेको संघर्ष र योगदानलाई नयाँ पुस्ताले बुझ्नुपर्ने बताए ।
उनले भने, ‘हामीले यहाँसम्म आइपुग्न धेरै संघर्ष गरेका छौँ । यो संघर्षको यात्रा र त्यसबाट प्राप्त उपलब्धिलाई नयाँ पुस्ताले पनि बुझ्नुपर्छ । हामीले अहिले जे गरिरहेका छौँ, त्यो हाम्रा पुर्खाले गरेको संघर्षकै उपलब्धि हो । त्यसलाई पुस्तान्तरण गर्न जरुरी छ ।’
मन्त्री श्रेष्ठले नेवार समुदायको आन्दोलनबाट केही महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गरे । उनले नेवा विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्नु, नेपाल संवत्लाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्ने प्रयास र सांस्कृतिक सम्पदाको संरक्षणका लागि भएका पहललाई उपलब्धिका रूपमा व्याख्या गरे ।
उनले भने, ‘पहिलो कुरा, हाम्रो आन्दोलनले नेवा विश्वविद्यालयको माग उठायो र त्यसको प्रक्रिया अघि बढेको छ । दोस्रो, नेपाल संवत्लाई राष्ट्रिय रूपमा सम्मान र पहिचान दिलाउने काम भएको छ । तेस्रो, हाम्रा सांस्कृतिक सम्पदाको संरक्षणका लागि पनि पहल भएको छ । यी सबै हाम्रा आन्दोलन र सांस्कृतिक अभियानका उपलब्धि हुन् ।’उनले संघीय संसद्मा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी विधेयकमाथि छलफल भइरहेको जानकारी दिँदै विधेयक निर्माण र कार्यान्वयनमा सरोकारवालाको सहभागिता आवश्यक रहेको बताए ।उनले भने, ‘यो विधेयक बनाउने काम मात्रै पर्याप्त हुँदैन । यसको निर्माणदेखि कार्यान्वयनसम्म सबैको सहभागिता आवश्यक छ । त्यसैले यसमा सबैलाई सहभागी हुन विनम्रतापूर्वक आग्रह गर्दछु ।’
मन्त्री श्रेष्ठले भाषा, संस्कृति र परम्परालाई दैनिक जीवनमा अभ्यास गर्नुपर्नेमा जोड दिए । नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्न प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो ।