प्रारम्भिक चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन परराष्ट्रमन्त्री खनालको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हुने विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न प्रभावकारी प्रारम्भिक चेतावनी प्रणाली आवश्यक रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ को अवसरमा आयोजित ‘सबैका लागि प्रारम्भिक चेतावनी : सबैलाई सुरक्षित गर्ने हाम्रो वाचा पूरा गर्ने’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका समुदायका लागि प्रारम्भिक चेतावनी प्रणाली जीवन रक्षाको महत्त्वपूर्ण माध्यम भएको उल्लेख गरे ।

विपद्को सुरुवाती समयमा नेपालले प्रारम्भिक चेतावनी प्रणालीमार्फत लाखौँ एसएमएस पठाउनुका साथै तल्लो तटीय क्षेत्रका समुदायलाई स्थानीयस्तरमा सूचना उपलब्ध गराएको भए पनि त्यो पर्याप्त नभएको उनको भनाइ थियो ।

मन्त्री खनालले प्रभावकारी पूर्वसूचना प्रणाली विकासका लागि उच्च हिमाली क्षेत्रमा रहेको अवलोकनसम्बन्धी अन्तरलाई कम गर्नुपर्नेमा जोड दिए । त्यसका लागि वास्तविक समयको तथ्याङ्क सङ्कलन प्रणाली, उपग्रहमा आधारित रिमोट सेन्सिङ तथा हिममण्डल (क्रायोस्फियर) को अनुगमनलाई विस्तार गर्नुपर्ने उनले बताए ।

त्यस्तै, स्थानीय भाषा र समुदायले सहजै बुझ्ने माध्यमबाट चेतावनी जारी गर्ने, पूर्वानुमानमा आधारित कार्यलाई प्राथमिकता दिने तथा अन्तिम तहसम्म सूचना पुर्‍याउने व्यवस्था गर्नुपर्ने उनको धारणा थियो ।

उनले सगरमाथादेखि समुद्रसम्मको दृष्टिकोणलाई आत्मसात् गर्दै सीमापार तथ्याङ्क आदानप्रदानलाई बलियो बनाउनुपर्ने बताए ।

जलवायु जोखिम न्यूनीकरणका लागि अनुमानयोग्य, सहज पहुँचयोग्य र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनुपर्नेमा जोड दिँदै मन्त्री खनालले जलवायुजन्य विपद्का बढ्दो प्रभावसँग जुध्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहकार्य आवश्यक रहेको बताए ।