नेपाल संवत् नेपालको मौलिक पहिचान हो: राष्ट्रपति पौडेल

नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनतालाई ऋणमुक्त गराई नयाँ युगको सुरुवात गरेको स्मरण गरेका छन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् नेपालको मौलिक संवत् र राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार भएको बताएका छन् । नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनतालाई ऋणमुक्त गराई नयाँ युगको सुरुवात गरेको स्मरण गरेका छन् ।

लिच्छवी राजा राघवदेवको समयमा काठमाडौं उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले नेपाल संवत् प्रचलनमा ल्याएको ऐतिहासिक मान्यता रहेको उनले उल्लेख गरेका छन् । नेपाली समाज सभ्य, सहिष्णु र एकताको सूत्रमा आबद्ध रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस्ता मौलिक परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचानलाई सुदृढ बनाउँदै आएको बताएका छन् ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा नेपाल संवत्को नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने गरिएको उल्लेख गर्दै उनले शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गरेका छन् ।

राष्ट्रपति पौडेलले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अघि बढ्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल संवत्ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकता थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।