साताको पहिलो दिन नेप्सेमा १०.२९ अंकको गिरावट, कारोबार ५ अर्ब नाघ्यो

आइतबार नेप्से परिसूचक १०.२९ अंकले घट्दै २६१०.६३ विन्दुमा कायम भएको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंकले ओरालो लागेको छ।

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ओरालो लागेर बन्द भएको छ। अघिल्लो कारोबार दिन गत बिहीबार झरेको नेप्सेले आइतबार पनि गिरावटको क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक १०.२९ अंकले घट्दै २६१०.६३ विन्दुमा कायम भएको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंकले ओरालो लागेको हो।

यद्यपि, नेप्से घट्दा पनि कारोबार रकम भने बढेको देखिएको छ। गत बिहीबार ४ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको बजारमा आइतबार ३२३ स्टकको ७९ हजार ७०२ पटकको कारोबारमार्फत ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन दुई स्टक सकारात्मक सर्किट लेभलमा पुगेका छन्। विन नेपाल लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, सान्भि इनर्जीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढ्दा सागर डिष्लिटरी र युनाइटेड ईडीसी मार्दी आरबी हाइड्रोपावरको शेयर मूल्य करिब ८ प्रतिशतले उकालो लागेको छ। घटेका स्टकहरूको हकमा भने मूल्य गिरावट ५ प्रतिशतभन्दा कममै सीमित रहेको छ।

कारोबार रकमको आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको आइतबार ३० करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको करिब २३ करोड रुपैयाँको कारोबार भएको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको हो।

१३ उपसमूहमध्ये आइतबार ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १।०४ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन र व्यापार उपसमूहका परिसूचक पनि सामान्य वृद्धि भएका छन्। यता, अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशतले घटेको छ।