रिलायन्स स्पिनिङ्ग मिल्सको महङ्गो आईपीओ आजदेखी खुल्यो, कति कित्ता दिन पाईन्छ ?

कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ । यद्यपि, कम्पनीको प्रतिसेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा छ । अर्थात लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले आज (पुस ७ गते) देखि प्रारम्भिक प्राथमिक निष्काशन (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । 

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरमा ५७ हजार ७९८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता निष्काशन गर्न लागेको हो । कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ । यद्यपि, कम्पनीको प्रतिसेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा छ । अर्थात लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा पुस ११ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ । रिलायन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल छ । लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा ‘मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

सेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी भन्ने बुझिन्छ । कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष छ ।

रिलायन्स स्पिनिङ्ग मिल नेपालको धागो उत्पादन गर्ने उद्योगहरुमध्ये रोजगारदाता उद्योगको रुपमा सबैभन्दा ठूलो उद्योग हो । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, यूके लगायतका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आएको छ । कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण हुन् भने प्रबन्ध सञ्चालक अक्षय गोल्याण छन् । कम्पनीको मुल उद्योग ‘ए’ ईटहरी १२ खनार र शाखा उद्योग ‘बि’ ईटहरी ४ दुहाबि, सुनसरीमा अवस्थित छ ।