रिलायन्स स्पिनिङ मिल्सको महङ्गो आईपीओ निष्कासन, कति तिर्नुपर्छ प्रतिकित्ता ?

लगानीकर्ताले रिलायन्स स्पिनिङको आईपीओमा आवेदन दिंदा प्रतिकित्ता ८२०.८० रुपैयाँ लाग्नेछ र कम्तीमा ५० कित्ता माग गर्नुपर्ने छ । यो आईपीओ भर्न कम्तीमा ४१ हजार ४० रुपैयाँ लाग्नेछ ।

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरेको हो ।

कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको हो ।

विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा २५ गतेसमम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस ७ गतेसम्म आवेदन दिन सकिने छ ।

साधारण सेयरमा लगानी गर्न चाहनेले धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ९० करोडको १०.१४ प्रतिशत अर्थात १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६०० कित्ता मध्ये ११ लाख ५५ हजार ९६० कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । साधारण शेयरको १० प्रतिशत अर्थात एक लाख १५ हजार ५९६ कित्ता साधारण शेयर आजदेखि वैदेशिक रोजगारीमा रहेका नागरिकलाई बिक्री गर्न लागिएको हो ।

बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको र सोही निर्देशिकाको दफा (१४) बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिंदा प्रतिशेयर मूल्य ८२०.८० रुपैयाँ कायम भएको छ।

लगानीकर्ताले यो आईपीओमा आवेदन दिंदा प्रतिकित्ता ८२०.८० रुपैयाँ लाग्नेछ र आवेदन दिंदा कम्तीमा ५० कित्ताका लागि र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ। यो आईपीओ भर्न कम्तीमा पनि ४१ हजार ४० रुपैयाँ लाग्नेछ।