सोलु हाइड्रोपावरको मंसिर ७ गतेदेखि आईपीओ, पहिलो चरणमा स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारलाई

१ अर्बको सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० करोडको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

काठमाडौं ।  सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ अर्ब रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सोमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दूधकोशी गाउँपालिकाको वडा नं. १ को स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात ४० लाख कित्ता तथा सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाको अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानिय बासिन्दाहरुलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता बाँडफाँट गरिनेछ ।

सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा मंसिर २१ गते हुनेछ भने ढिलोमा पुस ७ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा मंसिर १० गते हुनेछ भने ढिलोमा मंसिर २१ गते हुनेछ । स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि आइपीओ विक्री खुला हुने छ । 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको कुल अनुमानित लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ छ भने प्रतिमेगावाट अनुमानित लागत १९ करोड ८८ लाख रुपैयाँ छ । सोलु जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष बाँकी छ । सोलुको साधारण लगानी फिर्ता हुने अवधि ७.६८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.०९ वर्ष छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग छ । स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।