जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ ।
राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैन,’ उनले भने ।
यसअघि सेनाले सार्वजनिक गरेको आधिकारिक तथ्यांकमा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख छ । ४१ जनालाई भने अन्य भनिएको छ ।
जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट २२ जनाको मृत्यु हुँदा जेलबाट भाग्ने क्रममा १० जना कैदी बन्दी मारिएको विवरण सेनाले सार्वजनिक गरेको थियो । आन्दोलनकारीबाट मारिएका ३ जना प्रहरीबाहेक अन्य ४१ जना भने लुटपाट र आगजनी तथा आफैँले लगाएको आगो सल्किएर मृत्यु भएको हुनसक्ने आशंका छ ।
भाटभटेनीमा जल्ने तथा विभिन्न व्यक्तिका घरमा आगजनीका क्रममा जलेकाहरूलाई सेनाले अन्यको सूचीमा राखेको थियो ।