प्रधानमन्त्री कार्कीसँग सात प्रदेशका मुख्यमन्त्रीको बैठक, ‘निर्वाचन नै अबको निकास’ भएको निस्कर्ष

मुख्यमन्त्रीहरुले संघ, प्रदेश र स्थानीय सरकारले आपसी समन्वय गरेर काम गरेमा तोकिएको मितिमा निर्वाचन गर्न सकिने बताएका थिए ।

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीले प्रतिनिधि सभा निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बालुवाटारमा राखेको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले निर्वाचनको वातावरण बनाउन संघ सरकारसँग मिलेर काम गर्ने बताएका हुन् ।

मुख्यमन्त्रीहरुले शान्ति सुरक्षा निर्वाचनको प्रमुख चुनौती भएकाले गम्भीर हुन प्रधामन्त्रीलाई भनेका थिए ।मुख्यमन्त्रीहरुले संघ, प्रदेश र स्थानीय सरकारले आपसी समन्वय गरेर काम गरेमा तोकिएको मितिमा निर्वाचन गर्न सकिने बताएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीहरुले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणका लागि संघ सरकारले प्याकेज ल्याउनुपर्ने पनि बताएका छन् । उनीहरुले खर्च कटौतीका लागि संघ सरकारले गरेको परिपत्रले प्रदेश सरकारको क्षेत्राधिकारमा हस्तक्षेप गर्न खोजेको आशंका उत्पन्न भएको बताएका थिए ।

त्यसअवसरमा  प्रधानमन्त्री कार्कीले राजनीतिक दल नै व्यवस्थाका वाहक भएकाले जतिसक्दो छिटो निर्वाचन गरी दलीय सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताइन्।