बिचौलिया, कालोबजारी गर्नेसहित सबैको सम्पत्तिको छानबिन गरौं, अरूको नसके मेरो मात्रै भएपनि छानबिन गर्नुः अध्यक्ष ओली

कसले कहाँ आयोग बनाउँछन्, त्यहाँ लुरुलुरु गएर बयान दिन्न

केपी ओली कसकसले कहाँ-कहाँ आयोग बनाउँछन्, त्यहाँ लुरुलुरु गएर बयान दिँदैन । प्रधानमन्त्रीको शपथसम्म मेरो मोबाइल सिज गरियो । प्रधानमन्त्रीले शपथ लिएपछि मात्रै मेरो हातमा मोबाइल परेको हो ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् । उनले अरुलाई नसके आफ्नो मात्रै भएपनि सम्पत्तिको अनुसन्धान गर्न आग्रह गरे । आज सम्पादकसँग भएको भेटमा ओलीले आफ्नो जलेको घरको कण कण अनुसन्धान गर्न आग्रह गरे ।

‘म सासद भएपछि मैले पाएको रकम मेरो बैंक खातामा छ’ ओलीले भने ‘मेरो खातामा २०, २५ लाख होला । त्यसको हिसाब गर्न आयोग चाहिँदैन । बैंकसँग स्टेटमेन्ट लिए हुन्छ । कम्पनीसँग विवरण मागे भयो, सेयर कहाँ कति छ भनेर हेरे भयो ।’ ओलीले विश्वभरीका सरकारलाई ओलीको कहाँ के छ भनेर विवरण माग्न समेत आग्रह गरे । भेटमा ओलीले बिचौलीया, कालोबजारी गर्नेहरुको समेत सम्पत्तिको छानविन गर्न आग्रह गरे ।

ओलीले सरकारले बनाएको आयोगमा गएर लुरुलुरु बयान नदिने दाबी गरेका छन् । आफूले सरकारले बनाएको समितिमा कुनै हालतमा बयान दिन नजाने दाबी गरेका अध्यक्ष ओलीले भने, ‘केपी ओली कसकसले कहाँ-कहाँ आयोग बनाउँछन्, त्यहाँ लुरुलुरु गएर बयान दिँदैन ।’ यस्ता छानबिन आफ्ना लागि गृहमन्त्री भएको समयमा तीन दशक अघि पनि बनेको स्मरण गराए ।

जेनजी आन्दोलनको समयमा (भदौ २३,२४ गते) आफ्नो मोबाइल सिज भएको खुलासा गरेका छन् । ओलीले आफ्नो मोबाइल कसले सिज गर्यो भन्ने खुलासा गरेनन् । ‘प्रधानमन्त्रीको शपथसम्म मेरो मोबाइल सिज गरियो’ ओलीले भने, ‘प्रधानमन्त्रीले शपथ लिएपछि मात्रै मेरो हातमा मोबाइल परेको हो ।’