तिहारमा मिठाईको कारोबार उच्च, चिनी र दूध अभावले व्यवसायीलाई सकस
वर्षभरि विभिन्न चाडपर्वमा मिठाईको माग बढ्ने भए पनि सबैभन्दा बढी कारोबार तिहारमा हुने गरेको व्यवसायीहरू बताउँछन् ।
काठमाडौं । तिहार नजिकिएसँगै मिठाईको कारोबार ह्वात्तै बढेको छ । मिठाई पसलहरूमा उपभोक्ताको भीड बढेपछि व्यवसायीलाई मागअनुसार उत्पादन र आपूर्ति व्यवस्थापन गर्न भ्याइनभ्याइ भएको छ ।
वर्षभरि विभिन्न चाडपर्वमा मिठाईको माग बढ्ने भए पनि सबैभन्दा बढी कारोबार तिहारमा हुने गरेको व्यवसायीहरू बताउँछन् । सामान्य समयको तुलनामा तिहारमा मिठाईको माग झन्डै २५ गुणासम्म बढ्ने गरेको छ । तर, यस वर्ष माग बढिरहेका बेला चिनी र दूधको अभावले व्यवसायीलाई समस्या परेको छ । मिठाई उत्पादनका लागि अत्यावश्यक यी कच्चा पदार्थ पर्याप्त उपलब्ध नहुँदा उद्योगहरूले मागअनुसार उत्पादन गर्न सकेका छैनन् ।
नेपाल डेरी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अरनिको राजभण्डारीका अनुसार मिठाई उत्पादनमा औसत १७ प्रतिशत चिनी खपत हुन्छ । तर, बजारमा चिनीको अभाव हुँदा प्रतिकिलो १७० रुपैयाँसम्म तिर्न तयार हुँदा पनि आवश्यक परिमाणमा पाउन नसकिएको उनको भनाइ छ । सामान्यतया बजारमा चिनी प्रतिकिलो ११५ देखि १२० रुपैयाँमा बिक्री हुँदै आएको छ ।
चिनीको अभावसँगै दूधको आपूर्तिमा पनि समस्या देखिएको छ । विशेषगरी खुवाबाट बन्ने मिठाई उत्पादनका लागि ठूलो परिमाणमा दूध आवश्यक पर्ने भए पनि यस वर्ष उद्योगहरूले पर्याप्त दूध पाउन सकेका छैनन् ।
राजभण्डारीका अनुसार कच्चा पदार्थको मूल्यवृद्धि र आपूर्ति समस्याका कारण यस वर्ष मिठाईको मूल्य २० प्रतिशतसम्म बढ्न सक्नेछ । काठमाडौंमा दूध र चिनी नपाउँदा तराईका जिल्लाबाट समेत कच्चा पदार्थ ल्याएर उत्पादन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
नेपाल डेरी प्राइभेट लिमिटेडमा मात्रै दैनिक ४० बोरा चिनी खपत हुने गरेको छ । यसले तिहारको समयमा मिठाई उद्योगमा चिनीको माग कति ठूलो हुन्छ भन्ने देखाउँछ ।
यसैबीच, नेपाली मिठाई बजारमा भारतीय ब्रान्डको प्रभाव पनि बढ्दै गएको छ । आँगन, रामेश्वर, गंगौर र गुलाबलगायत भारतीय ब्रान्डका सोरुम विस्तार भइरहेका छन् । अर्कोतर्फ राम भण्डार, श्याम भण्डार, बागमती स्विट्स र अनमोल स्वीट्सलगायत स्वदेशी व्यवसायीले पनि मिठाई उत्पादन तथा बिक्री गर्दै आएका छन् ।
व्यवसायीहरूका अनुसार नेपाली मिठाईको इतिहास मल्लकालदेखि जोडिएको छ । कुनै समय दरबारदेखि सर्वसाधारणको घरसम्म नेपाली परम्परागत मिठाईको विशेष स्थान रहे पनि पछिल्लो समय भारतीय ब्रान्डको विस्तार र नयाँ पुस्ताको घट्दो आकर्षणका कारण स्वदेशी मिठाई व्यवसाय चुनौतीमा परेको छ ।
तिहार मिठाई व्यवसायीका लागि वर्षकै सबैभन्दा ठूलो कारोबारको अवसर भए पनि यस वर्ष कच्चा पदार्थको अभाव, मूल्यवृद्धि र बजारमा बढ्दो प्रतिस्पर्धाले व्यवसायीलाई दोहोरो चुनौती थपिएको छ । माग उच्च भए पनि उत्पादन लागत बढ्दा मिठाई व्यवसाय अपेक्षाअनुसार सहज हुन नसकेको व्यवसायीहरूको भनाइ छ ।