२४७८ बाट फर्किएको सेयर बजार २५४७ अंकमा, कारोबार रकम करिब ५ अर्ब

५ कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार

सोमबार नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने इमर्जिङ्ग नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ ।

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेर बन्द भएको छ । आइतबार ७८.८३ अंकले घटेको बजार सोमबार भने ४४.२५ अंक बढेर २५४७.६० विन्दुमा पुगेको छ ।

आइतबार २५०३ अंकमा रोकिएको नेप्से सोमबार नियमित कारोबार खुलेको १२ मिनेटमै २४७८.३९ अंकसम्म झरेको थियो । तर, त्यसपछि भने निरन्तर उकालो लागेर बन्द भयो । त्यस्तै, सोमबार सेन्सेटिभ इण्डेक्स ५.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९७ अंक बढेको छ ।

नेप्से बढेपनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार ६ अर्ब ७० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा सोमबार ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँबराबरको ९९ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने इमर्जिङ्ग नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सोमबार सर्वाधिक ५.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सोमबार शीर्ष स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३१ करोड ९१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ ।

सोमबार १३ वटै समूह सूचक बढेको छ। अन्य समूह सूचक सर्वाधिक ५.०१ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन समूह करिब साढे ३ प्रतिशत, जलविद्युत, लगानी र व्यापार समूह सूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।