भोलीदेखी श्रीनगर एग्रिटेकको आईपीओ, कति दिन पाइन्छ आवेदन ?
श्रीनगरले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँबराबरको २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले असोज २६ गते (भोली) देखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ३ लाख ९ हजार ९३८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले १ लाख ५४ हजार ९६९ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख २३ हजार ९७५ कित्ता सेयर कर्मचारीहरुलाई बाँडफाँट गरिसकेको छ ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँबराबरको २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्काशन गर्न लागेको हो । सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते हुनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले श्रीनगरलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग छ। लगानीकर्ताले सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयहरु र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।