आज काठमाडौँमा र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न नपाइने, प्रशासनले जारी गर्यो यस्तो सूचना
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज काठमाडौँमा र्याली तथा प्रदर्शन जस्ता कार्यक्रम गर्न रोक लगाएको छ । विभिन्न समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्याली तथा सभा–प्रदर्शनहरूमा प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको हाे ।
गत भदौ २३ गतेको जेनजी आन्दोलन पछिका दिनहरूमा तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेका घटनाको स्मरण गराउँदै प्रशासनले शान्ति–सुरक्षा कायम राख्ने, सार्वजनिक सम्पत्ति जोगाउने र सेवा प्रवाहलाई सुचारु राख्ने कार्यमा प्रशासन केन्द्रित रहेको जनाएको छ।
कार्यालयले जारी गरेकाे सूचनामा भनिएको छ, ’विभिन्न समूहहरूबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन थप जटिलता सिर्जना गर्न सक्ने भएकाले यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ।’