एटीएमबाट झिक्न पाउने रकमकाे सीमा २० देखि ५० प्रतिशतसम्म घट्यो

शुक्रबारको निर्देशनपछि अब प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइनेछ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाएको छ । केन्द्रीय बैंकले शुक्रबार बैंक तथा संस्थालाई एक परिपत्र जारी गर्दै डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाएको हो ।

हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न सकिन्छ । त्यसैगरी दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको छ । शुक्रबारको निर्देशनपछि अब प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइनेछ ।

प्रिपेड कार्ड र क्रेडिट कार्डको सीमा भने यथावत कायम छ । प्रिपेड कार्डको प्रति कारोबार १० हजार, प्रतिदिन २० हजार र प्रति महिना २ लाखको सीमा छ ।  त्यस्तै बैंक तथा वित्तीय संस्था बाहेकका सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति दिन ५ हजार र प्रति महिना २५ हजार रुपैयाँको सीमा यथावत छ ।