सुरुमा सकारात्मक सर्किट लागेपछि फर्किएको बजार २२.५९ अङ्क बढेर बन्द

राष्ट्र बैंकले सेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोडको सीमा हटाएसँगै बिहीबार बजार सकारात्मक भएको हो ।

काठमाडौँ । कारोबारको सुरुवातमा एक सय भन्दा धेरै अङ्क बढेर सकारात्मक सर्किट लागेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार २२ अङ्कमा बन्द भएको छ । 

कारोबार सुरु भएको तीन मिनेटमै नेप्से सूचक अघिल्लो दिनको तुलनामा १०२ अंक अर्थात् ४ प्रतिशत बढ्यो र नेप्से २६७५ अंकमा हुँदा सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार स्थगित भयो । सर्किट ब्रेकपछि खुलेको बजार भने क्रमशः झर्न थाल्यो । बजार बन्द हुँदा अन्ततः नेप्से जम्मा २२.५९ अंक मात्रै बढ्यो र नेप्से २५८२.१८ अङ्कमा सीमित भएको हो । बजारमा बिहीबार २०० कम्पनीको सेयर मूल्य बढेको छ । ४१ वटाको मूल्य घट्दा बाँकी १० वटा कम्पनीको मूल्य स्थिर

नेपाल राष्ट्र बैंकले सेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोडको सीमा हटाएसँगै बिहीबार बजार सकारात्मक भएको हो । सीमा हटाएपछि लगानीकर्ताहरु उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थियो । सर्किट लागेर २० मिनेट कारोबार स्थगित भएपश्चात खुलेको बजारले भने सोही क्रमलाई निरन्तरता दिन सकेन । फलस्वरुप नेप्से सामान्य अंक बढेर बन्द हुन पुग्यो ।

नेप्से बढेपनि बिहीबार  कारोबार रकम भने घटेको छ । बुधबार ५ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँबराबरको १ करोड १८ लाख ३० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

विन्धवासिनी हाइड्रोपावरको मूल्य सर्वाधिक ८.२१ ले बढ्नु र थ्रिस्टार हाइड्रोपावरको ९.०९ प्रतिशतले घट्नुबाहेक उल्लेख्य घटबढ देखिएन । बिहीबार बजारमा शिवम् सिमेन्ट र युनियन हाइड्रोपावरको समान २७ करोडको कारोबार भयो । 

अर्थ मन्त्रालयले गठन गरेको पुँजी बजार सुधारसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयनको निर्देशनसँगै बजारमा सुधार देखिएको हो ।