यो वर्ष हिले दशैं, आज दिउँसो कोशी र बागमतीको केही भागमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाका सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले यसपटक दसैंको मुख्य दिन विजयादशमीसम्म नै पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाएर यात्रा गर्न आह्वान गरेको छ ।