सुस्त सेयर बजार: हिमस्टार चम्किँदा १३९ कम्पनीको मूल्य घट्यो, सवा ३ अर्बमा सीमित कारोरबार

बिहीबार नेप्से सूचक २.३५ अंकले घटेर २ हजार ६ सय ५२ विन्दुमा बन्द भएको छ । कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । आज ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुस्ताएको छ । कर्मचारीहरूकाे आन्दोलनका कारण सेयर बजार सुस्ताएको हो ।

बिहीबार नेप्से सूचक २.३५ अंकले घटेर २ हजार ६ सय ५२ विन्दुमा बन्द भएको छ । कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । आज ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा १०७ कम्पनीको सेयरमूल्य बढ्दा १३९ वटाको घटेको छ । घटेको बजारमा एक कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा हिमस्टार ऊर्जा कम्पनी रहेको छ । हिमस्टारको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सिटि होटलको सेयर मूल्य सर्वाधिक ७.५५ प्रतिशत घटेको छ।

बिहीबार सेन्सेटिभ इण्डेक्स ०.१० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ । कारोबार रकमका आधारमा बिहीबार नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ९० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, यूनियन हाइड्रोपावरको करिब साढे १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ।

नेप्सेमा वर्गिकृत १३ समूहमध्ये बिहीबार ४ समूहको सूचक बढेको छ भने ९ समूह सूचक घटेको छ । यस दिन व्यापार समूह सूचक सर्वाधिक १.३६ प्रतिशत बढेको छ । बैंकिङ्ग, लगानी र म्युचुअल फण्ड समूह सूचक सामान्य बढेको छ । बिहीबार होटल तथा पर्यटन समूह सूचक सर्वाधिक १.४९ प्रतिशत घटेको छ ।