बन्दीपुर केवलकारको आईपीओ बाँडफाँड आज, हुनेछ २१ लाखको हात खाली
आईपीओमा ४ लाख ३४ हजार १०८ जनाले १०÷१० कित्ताका दरले शेयर हात पार्नेछन् भने २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ ।
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको प्राथमिक निस्काशन (आईपीओ) को आज दिउँसो बाँडफाँड गरिने भएको छ ।
कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्गका अनुसार आईपीओ आज दिउँसो ४ बजे बाँडफाँड हुने छ ।
आईपीओमा ४ लाख ३४ हजार १०८ जनाले १०÷१० कित्ताका दरले शेयर हात पार्नेछन् भने २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ । कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँको आवेदन दिएका थिए ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार २९ गते अनुमति पाएको थियो । अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई ५ लाख २९ हजार ४०० कित्ता, सामूहिक लगानी कोषलाई २ लाख ६४ हजार ७०० कित्ता र कम्पनीका कर्मचारीहरूलाई १ लाख ५८ हजार ८२० कित्ता आईपीओ सुरक्षित गरेपछि ४३ लाख ४१ हजार ८० कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्गस नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गलेसमयमै वित्तीय दायित्व बहन गर्ने कम्पनीको क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । बन्दीपुर केवलकार होटल तथा पर्यटन क्षेत्रको कम्पनीमा सूचिकृत हुने छ ।