अर्को सूचना नआए सेयर बजार असोज ५ गते मात्र खुल्ने
लगानीकर्ताहरु बजार खोल्ने र नखोल्ने दुई वर्गमा विभाजित छ । जेनजी आन्दोलनपछि बजार के होला भन्ने धेरैमा कौतुहल छ । सकेसम्म कतिपय लगानीकर्ताहरु बजार खुलेपछि क्र्यास हुने सम्भाना भएकाले हतारमा खोल्न नहुने पक्षमा छन् ।
काठमाडौं । सेयर बजार असोज २ गतेसम्म बन्द रहने भएको छ । नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै असोज २ गतेसम्म कारोबार बन्द रहने जनाएको छ ।
शुक्रबार र शनिवार सेयर बजार नखुल्ने भएकाले एकै पटक असोज ५ गते मात्र बजार खुल्ने छ । ६ गते फेरि यसवर्षको वडा दशैंको घटस्थापना (सार्वजनिक विदा) छ । असोज १३ गते फुलपातीदेखी दशैंको सार्वजनिक बिदा सुरु हुन्छ । लगानीकर्ताहरु बजार खोल्ने र नखोल्ने दुई वर्गमा विभाजित छ । जेनजी आन्दोलनपछि बजार के होला भन्ने धेरैमा कौतुहल छ । सकेसम्म कतिपय लगानीकर्ताहरु बजार खुलेपछि क्र्यास हुने सम्भाना भएकाले हतारमा खोल्न नहुने पक्षमा छन् ।
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९० उपदफा १ खण्ड घ बमोजिम बजार ४ दिन बन्द गरिएको नेप्सेले जनाएको छ । यहीं व्यवस्थाअनुसार अर्को १ दिन बन्द अवधि थप्न सकिनेछ । ऐनको दफा ९० मा बोर्डको विशेष अधिकार समेटिएको छ । सोअन्तर्गत बुँदा नम्बर घ मा धितोपत्र बजारसँग परामर्श गरी बढीमा ५ दिनसम्म धितोपत्र बजार बन्द गर्न आदेश दिने व्यवस्था छ । यो व्यवस्थाअनुसार अधिकतम ५ दिन बजार बन्द गर्न सकिन्छ ।
यसअघि नेप्सेले मंगलबार, बुधबार र बिहीबार बजार बन्द गराएको छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ मा आधारित भएर यी तीन दिन कारोबार स्थगित गराएको थियो ।
प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सकिने सो नियमावलीमा उल्लेख छ ।