प्रहरीले माग्यो आगजनी र लुटपाटका सबुद, अवस्था अनुकुल हुनासाथ संलग्नहरु पक्रिने
भाटभटेनी सुपरस्टोरका काठमाडौंसहित देशका विभिन्न भागमा रहेका विभिन्न आउटलेटमा आगजनीपछि लुटपाटका विभिन्न दृश्य सार्वजनिक भइसकेका छन् ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाटमा संलग्नहरूलाई कारबाहीका लागि नेपाल प्रहरीले सबुद प्रमाण पठाएर सहयोग गर्न आव्हान गरेको छ ।
आम समुदायसँग अनुरोध गर्दै प्रहरीले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा डर सिर्जना हुने गरीका घटनासँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्क उपलब्ध गराउन भनेको हो । त्यस्ता प्रमाण नेपाल प्रहरीको आधिकारिक इमेल ठेगानामा nepalpoliceinfo@gmail.com पठाउन आग्रह गर्दै प्रहरीले सबुद दिनेहरूको गोपनीयता कायमै राख्ने स्पष्ट पारेको छ ।
ट्राफिकको पोशाक लगाउने, सिठ्ठी फुक्दै सडकमा उत्रिने प्रदर्शनकारीका दृश्य विभिन्न माध्यमबाट सार्वजनिक भएका छन् । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनको क्रममा देशभर थुप्रै सार्वजनिक तथा निजी भौतिक संरचना ध्वस्त पारिए, नगद, गरगहना तथा जिन्सीको लुटपाट पनि उत्तिकै भएका छन् ।
भाटभटेनी सुपरस्टोरका काठमाडौंसहित देशका विभिन्न भागमा रहेका विभिन्न आउटलेटमा आगजनीपछि लुटपाटका विभिन्न दृश्य सार्वजनिक भइसकेका छन् । विभिन्न प्रहरी कार्यालयबाट हतियार झिकेर सार्वजनिक रुपमा प्रदर्शन भएका थिए । प्रहरीका पोशाक लगाएर प्रहरीकै कुर्सीमा बस्दै टिकटक बनाउने काम भए ।
प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेकाअनुसार परिस्थिति अझै अनुकूल भएकाे छैन । नयाँ सरकार बनेर अवस्था अनुकुल भएसँगै गलत क्रियाकलाप गर्नेहरु सबैको खोजबिन हुने छ ।
प्रहरीले गत चैत १५ को राजावादी प्रदर्शनमा उच्छृंखलता प्रदर्शन गर्ने सबैजसो मानिसको पहिचान गरी पक्राउ गरेको थियो । यसपटक त स्वयं प्रहरीका कार्यालय र व्यारेकमा अगजनी तथा तोडफोड भएको छ । हतियार, पोशाकदेखि मेसमा रहेका दाल, चामलसम्म लुटपाट भएका छन् ।